हे, शोषणको मार र चरम दुख सहेर
वीर भनिएका नेपालीहरु
हामीले,
प्रजातन्त्रको नारा किन उराल्यौ?
कम्युनिस्टको बिल्ला किन भिर्यौ
कोशी-गण्डकी मात्र होइन
महाकाली र बचिरहेका नदी समेत
जिम्मा किन लगाइसकेका छौँ?
सुघौलीको सन्धीले तय गरेको
सीमानाको नक्सा किन प्रकाशित गर्यौ
र कार्यान्वयन गरेनौ?
ठूला दाइलाई खुसी पार्न र रिझाउन गर्यौ!
शक्ति केन्द्रलाई घुर्काएर
आफ्नो स्वर्ग बनाउन गर्यौ!
हामी जे गर्छौ तिम्रै नामबाट गर्छौं
तिम्रो आँखामा छारो हालेर गर्छौं
हे! बुद्धु युवा हो
विद्वान भनिएका मूर्ख हो
जतिसुकै राष्ट्रियताको कुरा उठाऊ
न्याय र कानुन संविधानका धारा चिच्याऊ
त्यसलाई कुल्चने हटाउने शक्ति
पाइसकेका छौँ हामीले
त्यसैले त केही विदेशिन बाध्य छौँ
कोही भिख मागेर खान विवश छौँ
त्यो सबै हाम्रै निगाहा हो
बुझ्यौ त बबुरा बन्धु हो
हाम्रो राज्य को किल्लाको रक्षा गर्न
केही भरौटे मुन्द्रे र चुल्ठे भए पुग्छ हामीलाई
हे! युवा हो तिमीलाई एकदिन रमाउन पाए पुग्छ
स्याबास! तिमीलाई हामीले यो बुझेका छौं
स्याबास!
कोही स्यालको रुवाइ रोउन्
गोहीको आँसु झारुन्
तिमीले केही लछारपाटो लाउन सक्ने छैनौं।
किनभने
हामीले प्रभुलाई रिझाएका छौं
दाहिना बनाएका छौं
अब त बुझ्यौ मूर्ख हो?
हामी को हौं, कस्ले औँला ठडाएर के हुन्छ र?