हरेक बिहान सूर्यको पहिलो किरण
मेरै देशको शिरमा ठोकिन्छ।
हिउँरुपी ती सेतो दाना, मोती जस्तै यति टल्किन्छ,
त्यो चम्काई विश्वलाई एक सन्देश पनि हो
कि यही भूमि हो भगवान बस्ने ठाउँ।
यो तपोभूमिमा कति ऋषिमुनिहरुले जन्म लिए लिए
बुद्ध हुँदै मैत्रीगुरुसम्म जस्ले जन्मदेखि अन्तसम्मको
नयाँ संस्कार दिएर नयाँ जीवन दिँदैछ।
फूल हामीले कति टिप्यौँ, कति भाच्यौँ
तर कहिल्यै फुल्न छोडेन
बकैया खोलामा हामीले कति मुत्यौँ
नारायणी नदीमा हामीले कति हग्यौँ हग्यौँ
तर कहिल्यै दुषित भएन।
जब झरना झ्याङ झ्याङ झर्छ, सङ्गीत बन्छ
हावा चलेर सुइँया पातमा ठोकिँदा, सुरिलो धुन बन्छ।
हामी यस्तो ठाउँको मान्छे।
ती धुनमा कोइलीले कति भाका हाले
मयुरहरुले कति नाचे नाचे।
हामीले कति आनन्द लियौँ लियौँ।
मान्छे मार्ने अस्त्रमात्रै बनाउने देशमा बसेर
रङ्गिन दुनियाँ हेर्दै एकजनाले भन्यो यही हो स्वर्ग
कृतिम बगैंचा घुम्दै अर्कोले भन्यो स्वर्ग यही हो जस्तो लाग्छ।
म खाडीमा बालुवा निचोर्दै
तेल निकान्छ भन्ने मूर्खता गर्दै आफैंलाई सोधिरहेछु
मानवता सहितको स्वर्ग कहाँ छ?
हामी स्वर्गलाई नर्क
नर्कलाई स्वर्ग बनाउन उद्धत छौँ
आऊ ढुंगालाई ढोग्ने ढुंगाकै मन भएकोहरु
नर्कलाई स्वर्ग बनाऔँ।