प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद चल्न नदिन र संसदीय छानबिन समिति गठन नगर्न सरकार उद्यत भएको निष्कर्ष निकालेको छ।
शनिबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले छानबिन समिति बन्न नदिन र संसद समेत चल्न नदिन सरकार आफैं उद्यत रहेको निष्कर्ष निकालेको हो।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री गगन थापाले संसदको आगामी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीती तय गर्न संसदीय दलको बैठक बोलाउने निर्णय गरेको बताए।
उनका अनुसार आगामी रणनीति तय गर्नका लागि सोमबार १ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ। ‘त्यही बैठकले अब के गर्ने भन्ने निष्कर्ष निकाल्छ,’ उनले भने।
सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नतबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने विषयमा कांग्रेस अडिग रहेको पनि उनले बताए।
गठन हुने छानबिन समितिले पहिलो काम ठगिएका बचतकर्ताहरूको बचत फिर्ता दिनुपर्ने उनको भनाइ छ।
गृहमन्त्री आफू निर्दोष छु भन्नेमा विश्वस्त देखिएकाले छानबिन समिति बनाउनुपर्ने विषयमा डराउनु नपर्ने महामन्त्री थापाले बताए।
'उहाँ विश्वस्त हुनुहुन्छ। प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ। एमाले विश्वस्त छ। हाम्रो त दाबी मात्रै हो,' उनले भने, 'भोलि हामीले भनेको कुरा प्रमाणीत भएन भने कांग्रेसलाई कति क्षति पुग्छ होला। त्यो क्षती ब्यहोर्न तयार भएर छानबिन समिति माग गर्दै गर्दा उहाँहरू किन तयार नहुनुभएको।'
महामन्त्री थापाले यसअघि विभिन्न पार्टीका मन्त्रीहरूलाई विभिन्न आरोप लाग्दा सजिलैसँग संसदीय छानबिन समिति गठन गरी छानबिन भएको पनि बताए।
'उहाँलाई चाहीँ प्रश्नै गर्न नहुने हो? कानुनभन्दा माथि हो,' उनले भने।