मेरो सपनालाई 'पाइले गल्ली' भन्ने रोग लागेको छ। यसलाई मेरो अंग्रेजी मस्तिष्कले एले-स्टेपको नाम दिएको छ।
साँघुरा गल्लीहरुबाट हिँड्ने मानिसहरुको घामले टाउको देख्दैन तर गन्तव्यले पुरै जीउ देख्छ। यात्रामा हजारौँ ढोकाहरु आउँछन् तर त्यो मनिसलाई ढोकाको आग्लोले अल्झाउँदैन।
बाटो चिन्नेले त गन्तव्यलाई खत्रा सर्प्राइज दिइरहन्छन्, बाटो नचिन्नेहरु खाली घुमिफिरी रुम्जाटार। प्रत्येक चोकको इनारका खिया टल्किएका बाल्टिन उस्तै उस्तै हुन्छन्। अह! त्यहाँका बाल्टिनले मार्ग देखाउँदैनन्।
गल्ली नै गल्ली स्वाट्ट क्याम्पस जाने गरेको बानीले अहिले जहाँपनि स्वाट्ट पुगौँ जस्तो लाग्ने, छोटो बाटो खोज्ने आदत नै लाग्यो। हेर्नुस् न मलाई 'पाइले गल्ली' भन्ने रोग ठ्याक्कै मस्तिकमै लाग्यो। हाम्रो शताब्दी नै 'पाइले गल्ली' शताब्दी हो।
सिंगल क्लिकमै सबै हुन थाले। बजारमा पुगेर कपडा चिनेर किन्नुपर्ने, बजारले मलाई चिनेर कपडा ल्याइदिन्छ। अझ म त प्रेमी जोडीहरुलाई अनलाई फुड डेलिभरिहरुले गरेको सद्भावदेखि प्रफुल्ल हुन्छु। कम्तीमा डेलिभरी कम्पनीले स्यान्डविच ठाउँमै पुर्याइदियो र जोडीहरु भोकै परेनन्। तर यी कुराहरु मलाई आश्चार्य हैन है, रोचक लाग्छन्।
भौतिक डिजिटलाइजेसन स्वागतयोग्य छ तर बेरोजगारीहरुले नै भरिएको हाम्रो मुलुकमा यसले किन यत्रो स्कोप पायो भन्ने उत्सुकता जाग्छ। दिनभरि कोठामा लढेर दूरसंचारको डाटाप्याक लिँदै सामान अर्डर किन गरिन्छ?
किन फुर्सद हुँदैन हामीलाई दिनैभरि हिँड्ने खुट्टाका जुत्ताका पैताला छाम्ने समय? हामीलाई फुर्सद नै हुन्न भन्दा पत्याउने कसरी? आँखाले मनपराएपछि त्यो खरिद हुन्छ, एकैछिनमा डिजिटलाइज तरिकाले। कम्तीमा त्यसको महत्वको बारेमा सोच्नु त पर्ने होनि हामीले? हो, यहि रोग छ मलाई 'पाइले गल्ली'।
नेपालमा केही स्कोप नै छैन, डबल मास्टर्स गरेर नि दिनैभरि यही क्याफेमै हुन्छु। साँझ हिसाब गर्छु अनि खातामा चढाउँछु। कुनै जमानामा प्लस टुकालाई एकाउन्टेन्सी पढाउँथे, शंखमुलको एउटा क्याफेमा देखिरहेको दारीअनुहारले भनेको।
कृषिको अभ्यास सुरु गर्नु अगावै सरकार असन्तुष्ट समूहले सिँचाइ र बजारको तगारो देखाएर हामीलाई टर्न गरिहाल्छन् अरे, हामी कस्तो इलास्टिक छौँ सजिलो खोज्दै हजार कोणमा ढल्किने?
एउटै ढिस्कोसँग हजार पटक ब्याटल गरेर पहाड चढ्नुपर्ने हामी हजार ढिस्कोसँग एकैसाथ ब्याटल गरिरहेका छौँ। यो नभएनि त्यो त होला नि, त्यो थियो नि एकताकाको चर्चित स्लोगन 'जे गर्छु नेपालमै गर्छु नसके निदेश जान्छु।'
फलानो-ढिस्कानोको प्रगतिको कहानीसँग जोतिन खोज्दा खोज्दै आफूभित्रको खोज गर्न भुलिसक्छौँ। हामी कुनै एउटा व्यवसाय सुरु गर्छौं, ६ महिनामै त्यसको सकारात्मक रिजल्ट खोज्छौँ। रिजल्ट माइनसमा आए अर्को ढिस्को फोर्छौं।
प्लसमा आए अढिन्छौँ। अरे! यो कुरा पो साँचो हो जो माइनसको ढिस्कोमै सपना बुन्छ, त्यो सफल हुन्छ। हामीलाई सफल हुनु नै छैन। हामीलाई त्यहाँ मात्र पुग्नु छ हाम्रो संकुचित मस्तिष्कको बालिक सोच यही हो 'पाइले गल्ली'।
प्रतिक्षा गर्नुहोला भनेर कसैले कतै भन्यो भने आफूलाई प्र्यांक गर्या जस्तो लाग्छ। एकैछिन कुर्नै पर्यो भने उकुसमुकुस हुने यसलाई मेरो विज्ञानले मस्तिष्कलाई अक्सिजन नपुगेको भन्छ। हुन त हामी मान्छेलाई मृत्युपनि सट्कट्ली चाहिएको छ सुसाइडको रुपमा। अपराधको अपराधिक समयको त खै के बयान गर्नु।
लहैलहै, पछौटेपन र देखावटीपनबाट टाढा रहन सकियो भने यो पाइले गल्ली रोगबाट छुटकारा पाइएला। कुनैपनि परिवर्तनको लागि ढिला कहिल्यै भएको हुँदैन अनि आज बाहेक कुनैपनि दिन त्यो परिवर्तनको लागि उपयुक्त हुँदैन।
मान्छेले कुराएपनि सपनाले कुराएपनि कुर्ने बानी गरौँ। सायद कुराउने पात्रले अथवा सपनाले एटिट्युड देखायो होला। त्यसको रेस्पेक्ट गरिदिऊ, यति भयो भने हामी त्यो मनोवैज्ञानिक रोगबाट मुक्त हुन्छौँ। म यही उपचारको अभ्यासमा छु। मलाई थाहा छ, यसको उपचार तपाईंलाई पनि चाहिन्छ।