डिआइजी नवराज सिलवालले गत १३ चैतमा सर्वोच्चमा दर्ता गरेको रिट निवेदनको २१ नम्बर प्रकरणमा कार्यसम्पादन मूल्यांकनको नम्बरबारे उल्लेख गरेका छन् । ‘विपक्षीहरूले मनोमानी र बदनियतपूर्ण उद्देश्य प्राप्तिका लागि आर्थिक वर्ष ०७२-७३ को मैले प्राप्त गरेको कार्यसम्पादन अंकको लिखित नै परिवर्तन गर्ने चेष्टा गरेका छन्,’ रिट निवेदनमा भनिएको छ, ‘मैले प्राप्त गरेको ४० अंकलाई परिवर्तन गर्न सेवानिवृत्त तत्कालीन प्रहरी अधिकारीलाई बोलाई मेरो कार्यसम्पादन दुई प्रकारका तयार गरेका छन् । उपल्लो अंक प्राप्त गरेको कार्यसम्पादन लुकाउने चेष्टा गरेका छन्, तर सम्मानित अदालतमा प्रतिलिपिका रूपमा सुरक्षित छ ।’
महान्यायाधिवक्ता कार्यालयले डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको सबै विवरण झुट भएको दाबी गर्दै विधि विज्ञान प्रयोगशालाको रिपोर्टसहित शुक्रबार सर्वोच्च अदालतमा प्रतिवेदन बुझाएको छ ।
सिलवालले गत २९ चैतमा रिट निवेदनसँगै सर्वोच्चमा बुझाएको कार्यसम्पादन मूल्यांकन फाइल किर्ते गरेको दाबीसहित प्रतिवेदन पेस गरिएको महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बताए ।
प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सिलवाल र सरकारले अदालतमा पेस गरेका कार्यसम्पादन मूल्यांकन प्रतिवेदनको प्रमाणित प्रतिलिपिको नमुना आफ्नै विधि विज्ञान प्रयोगशालामा परीक्षण गरेको थियो । सिलवालले ०७२/७३ को कार्यसम्पादन मूल्यांकनमा आफ्नो २ नम्बर बढाएर सर्वोच्चमा बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
सिलवालले २९ चैतमा सर्वोच्च अदालतमा कार्यसम्पादन मूल्यांकनमा अर्यालको भन्दा आफ्नो अंक बढी रहे पनि सरकारले बदनियतपूर्वक आफ्नो अंक घटाएको भन्दै रिट निवेदन दिएका थिए । ‘नमुनाका लागि प्राप्त स–साना टुक्रा परीक्षण गर्दा चारवटा तालिकाको सबै विवरण हुबहु मिलेको देखिन्छ,’ विधि विज्ञान प्रयोगशालाका एसपी राकेशकुमार सिंहले ११ वैशाखमा पठाएको विवरणमा भनिएको छ । चार पेज लामो उक्त प्रतिवेदन प्रहरीले महान्यायाधिवक्ता कार्यालयमार्फत शुक्रबार सर्वोच्चमा पेस गरेको छ ।
गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयका अनुसार चार आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा ०६९-७० मा अर्यालको नम्बर ३९.२० छ भने सिलवालको ३९.४६ नम्बर छ । ०७०-७१ र ०७१-७२ मा सिलवाल र अर्यालको कार्यसम्पादन मूल्यांकन नम्बर बराबर छ । ०७२-७३ मा भने अर्यालको नम्बर ४० र सिलवालको ३८ नम्बर रहेको गृह मन्त्रालयको रेकर्ड छ । तर, सिलवालले कार्यसम्पादन मूल्यांकन कागजातमा ०७२-७३ मा आफ्नो ४० नम्बर भएको र अर्यालको ३८ नम्बर भएको कागज पेस गरेका थिए ।