थाइराइड हर्मोन गर्भबति भएको पहिलो दिनदेखी जन्मेपछिदेखी १८ बर्षको उमेरसम्म बालबालिकाहरुको हुर्कदो अवस्था र मष्तिष्कको बिकास (बुद्धि लब्धि) IQ को लागि अत्यन्त जरुरी पर्ने हर्मोन हो।
बालबालिकाहरुको मष्तिष्कको बिकासको लागि पहिलो तिनबर्ष धेरै महत्वपूर्ण हुन्छ, बिशेष गरी पहिलो छ महिनाको अवधिमा आयोडिनको कमी भएमा स्थाइ रुपमा (बुद्धि लब्धि) IQ को कमी हुन जान्छ। यदि हामीले समयमा समस्याको पहिचान र निदान गर्न नसकेको खण्डमा एक महिना ढिलो भयोभने ति बालबालिकाको (बुद्धि लब्धि) IQ मा पाँच प्वाइन्टको कम हुन जान्छ।
नेपालमा यस्ता बालबालिकाहरुको संख्या ठूलो रहेको अनुमान छ। यसको मुख्य कारण, धेरै पहाडि र हिमाली क्षेत्र रहेको नेपालको भौगोलिक अवस्था र त्याहाँको माटोमा रहेको आयोडिनको कमी हुनु हो। अर्को कारणमा नेपालमा मौसमी अवस्थाका कारण धेरै पानी पर्ने र पानीले माटोमा रहेको आयोडिनलाई बगाउँछ। यसले गर्दा माटोमा आयोडिनको मात्रा कमी भएर अन्न तथा खानेकुराहरुमा आयोडिन कम रहने गरेको छ। साथमा यसको महत्वको बिषयमा जनचेतनाको कमी रहेकोलेपनि यस्तो अवस्थाको सामना गर्नु परिरहेको छ।
बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।
बिश्वको तथ्याङ्क अनुसार हरेक ४००० नबजात शिशुमध्ये एकजना थाइराइडको समस्या लिएर जन्मिन्छन्। यि शिशुहरुलाई समयमै समस्याको पहिचान तथा निदान नभएर मष्तिष्कमा र शारिरिक बिकासमा स्थाइरुपमा असर पर्ने गरेको छ।
के हो यो थाइरोइड हर्मोन र यसले के काम गर्छ ?
थाइराइड हर्मोनको मुख्यकामहरुमा हाड्डी को बिकास, शारिरिक बिकास, तापक्रम नियन्त्रण सँगै अझ महत्वपूर्ण रुपमा यसले मष्तिष्कको बिकास तथा परिपक्वतामा भूमिका खेल्दछ।
थाइराइड हर्मोनले गर्भबति भएको पहिलो तिन महिनामा गर्भमा रहेको भ्रुणको मष्तिष्कको बिकास र त्यसको परिपक्वतामा अत्यन्त महत्वपूर्ण भुमिका खेल्दछ।
यसैगरी, नबजात शिशुहरुमा यस हर्मोनको कमहुनु वा नहुनुले पनि मष्तिष्कको बिकासमा अत्यन्त महत्वपूर्ण भुमिका खेल्दछ जसले गर्दा स्थाइरुपमा नै बुद्धि लब्धि (IQ) को कमी हुन जान्छ। यसैकारण, संसारका धेरै देशहरुमा रोकथाम गर्न सक्ने स्थाइ बुद्धि लब्धि (IQ) को कमी हुने किसिमका रोगहरुमध्येमा हाइपो थाइराइडिज्म प्रथम स्थानमा आउँदछ।
थाइराइड ग्रन्थी कम चल्यो भने हाइपो थाइराइडिज्म र बढी चल्यो भने हाइपर थाइराइडिज्म भनिन्छ। बालबालिका हरुमा बढी हाइपो थाइराइडिज्म देखिन्छ।
थाइराइड हर्मोन कमी भएका बालबालिकाहरुको कसरी चिन्ने ?
नबजात शिशुहरुमा थाइराइडको कमीहुँदा देखिने लक्षणहरुः
सुस्तता तथा बढी हलचल नगर्ने।
धोद्रो स्वरमा रुने।
जिब्रो लामो भएर धेरैजसो मुखबाट बाहिर निकाल्ने।
नाईटोमा हर्निया देखिने।
नबजात शिशुहरुमा जण्डिस देखिने।
आमाको दुध खान नमान्ने अथवा गाह्रो मानेर खाने।
कब्जियत हुने।
शरिरको तापक्रमलाई आफैंले नियन्त्रणमा राख्न नसक्ने।
बालबालिकाहरुमा थाइराइडको कमीहुँदा देखिने लक्षणहरुः
परिवारमा थाइराइडको समस्या हुनु।
दाँत ढिलो निस्कनु।
ढिलो हिड्ने र बोल्ने।
शारिरिक बिकास नहुनु।
उचाई नबढ्नु।
खाना राम्ररी नखाँदा समेत तौल अत्यधिक बढ्नु।
कब्जियत हुनु।
छाला सुख्खा हुने।
कपाल झर्ने।
चिसो लाग्ने।
सुस्त स्वभावको बच्चा हुनु।
धेरै सुत्ने।
एकाग्रताको समस्या हुनु र बिद्यालयमा सफल नहुनु।
(बुद्धि लब्धि) IQ को कमी हुनु।
जस्ता लक्षणहरु थाइराइडको कमी भएका कारणले देखिन्छन्।
माथि चर्चा गरिएका लक्षणहरु देखिएमा बालबालिकाहरुलाई नजिकको स्वास्थ्य केन्द्रमा लगेर उपचार गराउनु पर्ने हुन्छ। यस रोगको निदानकोलागि लक्षणहरु र थाइराइड हर्मोनको जाँच गरिन्छ र हार्मोन बढी वा कमी देखिएमा त्यसको आधारमा उपचार गरिन्छ। उपचार सरल र सुलभ छ।
हाम्रो बालबालिकाको भबिष्य हाम्रै हातमा रहेको छ। थाइराइड रोगको उपचार समयमै पाएपछि बालबालिकाहरुको शारिरिक बिकास, मानसिक बिकास र उचाईमा दिन प्रतिदिन उल्लेख्य रुपमा सुध्रदै जान्छ।
लेखक ग्राण्डि अन्तर्राष्ट्रिय अस्पताल, धापासी काठमाडौंका बालरोग बिभाग निर्देशक, हुन्।