काभ्रेपलाञ्चोकमा अहिलेसम्म पुनः निर्माणको काम करिब १० प्रतिशतको हाराहारीमा भएको छ ।
विसं २०७३ भदौमा निजी आवास अनुदान सम्झौताको प्रथम किस्ता वितरणदेखि अहिलेसम्म १० महिनाको अवधिमा झन्डै ६ हजार ३०० घर पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुवराज गैडाले जानकारी दिए । जिल्लामा भुक्तानीका लागि सिफारिस भएका लाभग्राहीको सङ्ख्या ६३ हजार ५९६ छ ।
उनले दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर पुनःनिर्माणको काम तीव्र भएकाले पुनः निर्माण भएको घर सङ्ख्या केही दिनमा नै बढ्ने उल्लेख गर्दै इन्जिनियर प्रमाणीकरणका लागि घर घरमा गइरहेको बताए।
काभ्रेपलाञ्चोकमा भूकम्पपीडितमध्ये ६१ हजार २२२ जनाले नेपाल सरकारबाट प्रथम किस्ता बापतको रकम पाएका छन् भने विभिन्न गैरसरकारी संस्थाबाट दुई हजार ३७४ जनाले प्रथम किस्ता बापतको रकम बुझेका छन् ।
त्यस्तै, दोस्रो किस्ता पाउनेको सङ्ख्या दुई हजार ३७ नेपाल सरकारबाट र विभिन्न गैरसरकारी संस्थाबाट २४४ जनाले दोस्रो किस्ता बापतको रकम बुझेका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुवराज गैडाले भने, “पुनःनिर्माणका लागि इन्जिनियरद्वारा प्रमाणीकरण गर्न सहरी विकास तथा डिभिजन कार्यालय, धुलिखेलमा ५० हजार भूकम्पपीडितको आवेदन परेको छ ।”
जिल्लामा गुनासो सम्बोधनका लागि २३ हजार ९०२ जनाको आवेदन परेकामा १९ हजार ६३१ को फछ्र्यौट भएको छ । भूकम्पपीडितले पुनः निर्माणको काम सुस्त भएकाले जनजीवन कष्टकर भएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । रासस