दक्षिण चितवनको माडीको रामराज्यपुरका दुई बालिकाको मृत्यु प्रकरणको विषयलाई लिएर आज माडी बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बन्दका कारण बिहानैदेखि भरतपुर–माडी ठोरी चल्ने सवारीसाधन ठप्प छन् । पानीमा डुबेर मरेको भनिएका दुई बालिकाको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्न आज बन्द गरिएको स्थानीयले बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) निकट महिला सञ्जालको नेतृत्वमा विभिन्न सङ्घसंस्थाको सहभागितामा बन्द आह्वान गरिएको जनाइएको छ ।
बालिकाको शरिरका विभिन्न ठाउँमा चोट देखिएको र रगत समेत देखिएको भन्दै कसैले हत्या गरेको आशङ्का उनीहरुको छ । सो घटनाको विषयमा महिला सञ्जालले दबाब दिएपछि चिकित्सक, प्रहरी तथा अनुसन्धानको टोली सोमबार घटनास्थल पुगेर स्थलगत निरीक्षण समेत गरेको छ ।
भरतपुरमा पनि महिला सञ्जाललगायत विभिन्न सङ्घसंस्थाले घटनाको गहिरो अनुसन्धान गरेर दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
शनिबार साथीहरुसँग पिकनिक खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीया दीपशिला परियार र ११ वर्षीया दिपीका सुनारलाई पोखरीमा डुबेको अवस्थामा फेला पारिएको थियो । उनीहरुको उपचारका क्रममा सोही दिन साँझ मृत्यु भएको थियो ।
शव परीक्षण प्रतिवेदन अलि अस्पष्टजस्तो देखिएकाले घटनास्थलमै पुगेर स्थलगत अवलोकन गरिएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए।
उनीहरूको गुप्तांग, खुट्टाको काप, कानको लोतीमा टोकेको देखिएकाले केले टोकेको हो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको उनले जानकारी दिए।
घटनाको अनुसन्धानका लागि पिकनिकमा संलग्न १६ वर्ष माथिका तीनजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनको भनाइ छ । सो घटनापछि माडीका स्थानीयले भने प्रदर्शन जारी राखेका छन् । रासस