अस्ट्रेलियाले आफ्नो तीव्र बलर मिचेल स्टार्कलाई बंगलादेशविरुद्ध २ टेस्टका लागि विश्राम दिएको छ। खुट्टामा चोट बोकेका २७ वर्षीय स्टार्कलाई आगामी विन्टरमा इङ्ल्यान्डविरुद्ध एसेस श्रृंखलाका लागि पूर्ण स्वास्थ्य लाभ गर्न विश्राम दिइएको हो। अस्ट्रेलियाले २ टेस्ट श्रृंखलाका लागि बंगलादेशको भ्रमण गर्दैछ। २७ अगस्टमा ढाकामा पहिलो र ४ सेप्टेम्बरमा चटगाउँमा दोस्रो टेस्ट खेल्दैछ।
उनी सेप्टेम्बरमा भारतविरुद्ध एकदिवसीय श्रृंखलाका लागि उपलब्ध हुने आशा गरिएको छ। अस्ट्रेलियाका फिजियो डेभिड बेकले भन्छन्, ‘हामी सेप्टेम्बरको अन्त्यमा भारतविरुद्धको एकदिवसीय श्रृंखलाका लागि मिचेल फर्किनेमा आशावादी छौं, जसका कारण उनले एसेसको तयारी सुरु गरुन्।’ बंगलादेश र अस्ट्रेलियाविरुद्धको श्रृंखला २०१५ कै घोषित कार्यक्रम हो।
र, त्यतिबेला सुरक्षाको कारण भ्रमण स्थगित भएको थियो। ‘बंगलादेशी क्रिकेट बोर्ड र बंगलादेश सरकारले सुरक्षाको प्रत्याभूति दिएपछि हामीले पूर्व कार्यक्रमलाई अगाडि बढाएका हौं,’ अस्ट्रेलिया क्रिकेटका कार्यकारी अधिकारी पाट होवार्डले बताए। इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको एसेस ब्रिसबनमा २३ नोभेम्बरदेखि सुरु हुँदैछ।
बंगलादेश जाने अस्ट्रेलिया टोलीः
स्टिभ स्मिथ, डेभिड वार्नर, अस्टन एगर, हिल्टन कार्टराइट, पाट कुमिन्स, पिटर हयान्डसकोम, जस हेजलउड, उस्मान ख्वाजा, नाथन लायन, ग्लेन मेक्सवेल, जेम्स पाटिन्सन, म्याथ्यु रेनसा, म्याथ्यु वाडे।