त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउतिर रहेको फुटबल मैदानमा कुनै सभा समारोहजस्तो सजाइएको थियो। एकछिन अगाडिसम्म कुनै ठूलो समारोहको आयोजना हुन लागेजस्तो देखिने ठाउँको कुनामा रहेको एउटा डेमो विमानबाट धुवाँको मुस्लो उड्न थाल्यो। वरीपरी तैनाथ रहेका दमकलले उक्त आगो नियन्त्रणमा लिन अगाडि बढे।
एक्कासी अवस्था फेरियो दमकल, सुरक्षा निकायका साइरनवाला गाडीको ताँती लाग्न थाल्यो। त्यतिमात्र होइन ठूलो संख्यामा सुरक्षाकर्मीहरू पनि तैनाथ भए। कोही आगो नियन्त्रणतिर लागे त कोही मान्छेको उद्धारतिर र एम्बुलेन्स, डाक्टर र नर्सको पनि व्यस्तता बढ्यो।
फेरि एम्बुलेन्सका साइरन बज्न थाले। घाइतेलाई अस्पतालतिर लाग्न थाले। गम्भीर घाइतेलाई त झनै हेलिकप्टरले नै उद्धार गरियो। वातावरण यस्तो बन्यो कि ठूलै विमान दुर्घटना भएर ठूलो धनजनको क्षति भएजस्तो।
तर यो वास्तविकता भने होइन, बरू हो के भने भविष्यमा कुनै पनि समय विमानस्थलमा यस्तै दुर्घटना भएमा कसरी उद्धार र नियन्त्रण गर्न सकिन्छ भनेर अन्तर्राष्ट्रिय विमानस्थलले गरेको पूर्वअभ्यास हो।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को वाध्यकारी व्यवस्थाअनुसार कुनै पनि विमानस्थलले प्रत्येक दुई वर्षमा यस्तो परीक्षण गर्नुपर्ने व्यवस्था अनुरुप गरिन्छ। ‘फूल स्केल इमरजेन्सी एक्सरसाइज’ नामको यो अभ्यास त्रिभुवन विमानस्थलले २०७२ सालमा गरेको थियो।
विमानस्थलमा कुनै पनि समय दुर्घटना हुनसक्ने सम्भावना हुन्छ तर त्यसालई नियन्त्रण गर्नसक्ने क्षमता र प्रविधि त्यहाँको के कति छ भनेर आइकाओले गर्ने एउटा परीक्षण पनि हो र उड्डय सुरक्षाको एउटा अभिन्न अंग भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।
उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुखहरु तथा उड्डयन क्षेत्रका सरोकारवालाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा कुनै पनि समयमा हुनसक्ने दुर्घटनालाई कसरी सामना गर्ने भनेर विमानस्थलले आज परीक्षण गरेको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी दिए।
वास्तविका दुर्घटना भएपछि गर्नुपर्ने औपचारिक, अनौपचारिक सबै प्रक्रिया पुरा गरेर देखाइएको उक्त कार्यक्रममा दुर्घटना हुनुभन्दा स्रोत विमानस्थलबाट आएको विमानले यहाँको विमानस्थलको टावरमा कसरी सम्पर्क गर्छ, कहाँ आएपछि सम्पर्क गर्छ र त्यसपछि विमानस्थलको टावरले कहाँकहाँ केके सुचना सम्प्रेसन गर्छ भनेर देखाइएको थियो।
जस्तो एयरबसको ए ३३० मोडलको ‘एबीसी १२३’ नामक विमान श्यामापुर भन्ने ठाउँबाट आउँछ तर त्रिभुवन विमानस्थलको टावरको सम्पर्कमा आउनेवित्तिकै उक्त विमानले टावरमा सम्पर्क गरी विमानको दाँयाँ इन्जिनमा आगो लागेको र आपत्कालिन अवस्थाको जानकारी गराउँछ।
त्यसपछि विमानस्थलको टावरले उक्त विमान आइपुग्ने समयको हिसाब गर्दै विमानस्थलका डिजी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, अस्पताल, एयर अपरेटरलाई उक्त अवस्थाको बारेमा जानकारी गराउँदै सबैलाई तयारी अवस्थामा रहन सुचित गर्छ।
जव एउटा इन्जिमा आगो लागिसकेको विमान ल्यान्ड गर्छ त्यतिबेलासम्म दमकल, एम्बुलेन्स, सुरक्षाकर्मीहरु उक्त स्थानमा पुगिसकेका हुन्छन् जव विमान ल्यान्ड हुन्छ तब आगो लाग्नासाथ सबैले उद्धार र नियन्त्रणको प्रयासमा लाग्छन्।
त्यसपछि विमानस्थलले घटनाको बारेमा जानकारी गराउछ र दोस्रोपटक फेरि क्षतिको विवरणसहितको जानकरी गराउँछ।
यो पूर्व तयारीमा गरिएको कार्यक्रम भए पनि गरिएका अभ्यासहरु सबै वास्तविक समयमा गरिएकोले विमानस्थल सुरक्षाको हिसाबले सक्षम रहेको महाप्रबन्धक उपाध्याले जानकारी दिए। अचानक हुनसक्ने त्यस्ता दुर्घटनाको लागि विमानस्थल सदैव तयारी अवस्थामा रहेको र त्यसको परीक्षण गरेर अन्तर्राष्ट्रिय नियमक संस्थालाई देखाइएको उनले बताए।
[caption id="attachment_51962" align="alignnone" width="1200"]
[/caption]