विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १७० औं स्थानमा पुगेको छ। जुलाई महिनाको लागि जारी गरेको वरियतामा नेपाल १ स्थान तल झरेको हो। यसअघि ४ स्थान माथि उक्लदै १६९ औं स्थानमा रहेको नेपाल यो पटक एक स्थान तल झरेको हो।
फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दा दक्षिण एसियामा सबैभन्दा अगाडि रहेको भारत ४ स्थान माथि उक्लदै ९६ स्थानमा उक्लेको छ।
नयाँ वरियता अनुसार दक्षिण एसियाली मुलुकहरूमा भारतपछि माल्दिभ्स १४ स्थान माथि उक्लदै समग्र वरियताको एक सय ४२औं स्थानमा छ। नेपालभन्दा माथि रहेको भुटान २ स्थान माथि उक्लदै १ सय ६४ औं स्थानमा पुगेको छ भने ३ स्थान उक्लदै अफगानिस्तान १ सय ५५ औं स्थानमा छ। नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा छ।
नेपालभन्दा तल रहेको बंगलादेशले दुई स्थान सुधार गर्दै १ सय ९० औं स्थानमा पुगेको छ। १ सय ९७ औं स्थानमा रहेको श्रीलंका र २ सय औं स्थानमा रहेको पाकिस्तान भने यथावत छन्।
विश्व वरियतामा भने कन्फेडेरेसन कप विजेता जर्मनीले यो पटक वरीयताको शीर्ष स्थानमा उक्लिएको छ। ब्राजिल दोस्रो र अर्जेन्टिना तेस्रो स्थानमा छन्। यसअघि आठौं स्थानमा रहेको पोर्चुगल ४ स्थान सुधार गर्दै चौथो स्थानमा उक्लेको छ। स्वीट्जरल्याण्ड, पोल्याण्ड, चिली, कोलम्बिया, फ्रान्स र बेल्जियम क्रमश: पाचौं देखि दशौँ स्थानमा छन्।