असार १४ मा सम्पन्न दोस्रो चरणको निर्वाचनका क्रममा एकजना प्रहरी निकै चर्चामा आए । निकै बहादुरीका साथ आफ्नो कर्तव्य निर्वाह गरेकाले उनले चर्चा र लाखौँ नेपालीको धन्यवाद पाएका हुन् । उनी अर्थात्, सल्यान शारदा– १ सिनेनगरका दुर्गाबहादुर राना । दुर्गाबहादुर उनै प्रहरी हवल्दार हुन्, जसले दाङ, तुलसीपुर उपमहानगरपालिका–३ अम्बासस्थित श्री आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको समयमा प्रहार भएको बम हातैले समाएर फ्याँकेका थिए । बम फ्याँकेर सम्भावित दुर्घटनाबाट मतदान गर्न लामबद्ध नागरिकलाई बचाएका दुर्गाबहादुरको बहादुरीको चर्चा त्यसपछि नै चुलिएको हो । उनले बम कसरी फ्याँके, त्यसपछिको चर्चा र उनको व्यक्तिगत जीवनबारे आजको नयाँ पत्रिकामा कृष्ण आचार्यले समाचार तयार पारेका छन्।
केही नसोची बम समातेर फ्याँकेँबिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । ७ बजेदेखि नै मतदाता आउने जाने क्रम चलिरहेको थियो । उहाँहरूको सुरक्षाका लागि हामी २५ जना सुरक्षाकर्मी खटिएका थियौँ । दुई घण्टा शान्तिपूर्ण ढंगले मतदान चल्यो । त्यसपछि करिब साढे ९ बजे मतदानस्थलमा कतैबाट कसैले बम प्रहार गर्यो । मोटर साइकलमा आएका अज्ञात व्यक्तिहरूको समूहले मतदान स्थललाई टार्गेट गरेर बम फ्याँकेको थियो । मतदान गर्न लाम लागेका महिला र पुरुषको लाइनको बीचमा आएर उनीहरूले फ्याँकेको बम खस्यो । बम भुइँमा खस्नासाथ आवाज आयो । म बमदेखि करिब एक मिटरको दूरीमा थिएँ । त्यो बम नै हो भन्ने आँकलन गर्न मलाई समय नै लागेन । त्यो सकेट बम थियो । जुन जलिरहेको थियो । केही सेकेन्डमै विष्फोट हुनेवाला थियो । मैले केही नसोची त्यसलाई हातले समातेर २५ मिटर पर खाली ठाउँमा फालेँ । बम भुइँमा खसेको ५ सेकेन्डभित्र मैले फालिसकेको थिएँ होला । कतिपय मिडियामा भुइँमा नखस्दै समातेको भन्ने पनि आएछ । तर, त्यो सत्य होइन ।
मतदानका लागि बुथमा करिब चार सय मतदाता हुनुहुन्थ्यो । बुथलाई मेन प्वाइन्ट बनाएर बम फालिएकाले त्यहाँ ठूलै क्षति हुन सक्थ्यो । मलाई बमको विषयमा केही जानकारी भएकाले समयमै फ्याक्न सकेँ र धेरैको ज्यान बचाउन सफल भएँ ।
पड्किएपछि बल्ल होस खुल्यो
मेरैअगाडि बम देखेपछि मेरो होस नै हराएको थियो । मैले केही कुरा सोच्नै सकेको थिएन । मलाई यो बम हो र केही समयमा पड्किन्छ भन्ने कुरा मात्र याद थियो । त्यसैले हतार नगरी त्यसलाई फ्याँके । बम खाली ठाउँमा गएर पड्किएपछि बल्ल मेरो होस खुल्यो । बम खसेकै भुइँमा पड्किएको भए, या मेरो हातमै पड्किएको भए मेरो के हालत हुन्थ्यो होला ? भन्ने सोचेँ । त्यसो भएको भए मलगायत त्यहाँ धेरैको ज्यान जान सक्थ्यो । कति घाइते हुन्थे । योबाहेक मलाई खुसी पनि लाग्यो । किनकि, मैले मलाई दिइएको जिम्मेवारी निभाएको थिएँ । म त्यहाँ मतदाताको जिउज्यानको सुरक्षाका लागि खटिएको थिएँ । यस्तो अवस्थामा आफ्नो ज्यानै दिएर भए पनि उहाँहरूको सुरक्षा गर्नु मेरो कर्तव्य हो । जसलाई मैले पूरा गरेँजस्तो लाग्छ ।
जुन जिम्मेवारी दिइन्छ, निर्वाह गर्छुम अहिले परराष्ट्र मन्त्रालयमा छु । यहाँ मैले मन्त्रीज्यूको सुरक्षाको जिम्मेवारी पाएको छु । परराष्ट्रमा मन्त्रीज्यू आएसँगै सुरक्षा चाहियो भनी माग गरिएको रहेछ । संगठनले त्यहाँ मलाई खटायो । यसमा तुलसीपुरको घटनाले पनि केही प्रभाव पारेको छजस्तो लाग्छ । आफूले यति ठूलो जिम्मेवारी पाउँदा निकै खुसी छु ।
खासमा मैले यहाँ मन्त्रालयमा को र कस्ता व्यक्ति आउँछन् हेर्ने, मन्त्रीलाई भेट्न आएका मान्छेलाई फलो गर्ने, वेटिङ रुममा राख्ने, उहाँहरूलाई सुरक्षा दिने, सचिव, उप–सचिवलाई सहयोग गर्ने जिम्मेवारी पाएको छु । संगठनका सरहरूले ‘तिमीले साह्रै राम्रो काम गरेका छौ, तिम्रो उचित मूल्यांकन हुन्छ’ भन्नुभएको छ । तर, मेरो कुनै स्वार्थ छैन । न त मेरो कुनै माग नै छ । जेका लागि, जहाँ खटाइन्छ, जुन जिम्मेवारी दिइन्छ त्यो निर्वाह गर्न म सधैँ तयार छु ।
पढ्न नसकेर प्रहरीमा लागेँमेरो जन्म ०३६ सालमा सल्यान शारदा– १ सिनेनगरमा भएको हो । मैले एसएलसीसम्म त्यही पढेँ । म पढाइमा खासै तेज थिइनँ । जसोतसो ०५६ सालमा एसएलसी पास गरेँ । एसएलसीपछि आइए पनि भर्ना भएँ । तर, पढाइ राम्रो भएन । ब्याक लाग्यो । सामान्य गाउँले परिवारमा जन्मिएको मान्छे भएकाले मेरो त्यस्तो ठूलो कुनै सपना थिएन ।
घरपरिवारले भने पढाइमा ध्यान दिनुपर्छ भन्नुहुन्थ्यो । तर, नसकेपछि अब के गर्ने भन्ने चिन्ता भयो । परिवारका सदस्यले पनि मेरो चिन्ता गर्न थाले । गाउँमा कुनै कुराको स्कोप थिएन । त्यति नै वेला प्रहरीमा जागिर खुल्यो । मैले निवेदन दिएँ । नेपालगन्ज तालिम केन्द्रमा बाँकी प्रक्रिया पूरा गर्नुपर्ने भयो । र, म छनोट भए । खासमा म पढ्न नसकेर प्रहरीमा लागेको हुँ।