प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले आगामी बजेटमा खेलकुदलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन्।
प्रदेशस्तरीय १०औँ राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको शनिबार अपराह्न उद्घाटन गर्दै उनले खेलाडीको वृत्तिविकासका लागि प्रदेशमा रंगशाला, प्रशिक्षण र दक्ष प्रशिक्षकको व्यवस्था गर्ने जानकारी दिए।
खेलाडीले खेलकुदका माध्यमबाट आफूभित्र रहेको प्रतिभा प्रस्फुटन गरी अन्तर्राष्ट्रियस्तरमा देशको नाम उचाइमा पुर्याउनुपर्नेमा जोड दिँदै उनले सरकारले खेलकुदलाई विकास र समृद्धिको एउटा महत्वपूर्ण अंग मानेको बताए।
उनले मुलुकमा तीन तहको सरकार गठन भइसकेको अवस्थामा मुलुकमा खेलकुदको महत्व धेरै रहेको बताउँदै खेलाडीले अनुशासन कायम गरी जिल्ला, प्रदेश र देशको नाम उज्वल राख्नुपर्ने बताए।
मुख्यमन्त्री राईले नेपाली जनता एक ढिक्का भएको अहिलेको अवस्थामा जनताले आफ्नो कानून बनाइरहेको तथा मुलुकमा सुशासन कायम गरी नयाँ युगमा प्रवेश गरेकाले जनताको विकास र समृद्धिको चाहना पूरा हुने धारणा राखे।
पूर्वाञ्चल खेलकुद परिषद्का अध्यक्ष रवीन नगरकोटीको सभापतित्वमा भएको उक्त उद्घाटन समारोहमा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशरबहादुर विष्टको उपस्थिति रहेको थियो ।
जेठ २१ गतेसम्म सञ्चालन हुने उक्त खेलकुद प्रतियोगितामा प्रदेश नं १ का १४ जिल्लाका ९५० जना विभिन्न विद्यालयका छात्रछात्राको सहभागिता रहेको छ ।
उक्त प्रतियोगिता सम्पन्न गर्न रु ३५ लाख खर्च हुनेछ भने उसु, कराते, एथ्लेटिक्स, भलिबल, तेक्वान्दो र कबड्डी छ विधामा खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई काठमाडौँमा हुने राष्ट्रियस्तरको १०औँ राष्ट्रपति खेलकुद प्रतियोगितामा सहभागी गराइनेछ ।