वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमतिविपरीत ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गराउन खोजेको भन्दै नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्दै सरकारविरूद्ध प्रदर्शन गरेको छ।
सरकारले मंगलबारको प्रतिनिधिसभा बैठकमा सो विधेयक पारित गराउने प्रयास गरेपछि त्यसको विरोधमा प्रमुख प्रतिपक्ष कांग्रेसमा आवद्ध नेविसंघले निषेधित क्षेत्र तोड्दै सरकारविरूद्ध प्रदर्शन गरेका हुन्।
त्यसक्रममा उनीहरूले जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराल प्रखर क्यान्सर अस्पताल संघीय सरकारको मातहत ल्याउने निर्णय तत्काल गर्न माग गर्दै सरकारविरूद्ध चर्का नाराबाजी पनि गरेका थिए।
यता, प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेका नेविसंघका कार्यकर्तालाई लखेटेका थिए। कांग्रेसले सो दुई अस्पताल संघीय सरकारको मातहत ल्याउने निर्णय तत्काल गर्न दबाब दिँदै सोमबारबाट संसद बैठक अवरूद्ध पारिरहेको छ।