भारतमा नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री बनेका छन्। गत बिहीबार उनले पद तथा गोपनियता सपथ लिए र अर्को दिन मन्त्रिमण्डलको कार्यविभाजन गरे।
उक्त कार्यविभाजनअनुसार पूर्वविदेश सचिव एस जयशंकर भारतका नयाँ विदेश मन्त्री बनेका छन्।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानन्त्री शेरबहादुर देउवाले जयशंकरलाई पनि कांग्रेस पार्टीको तर्फबाट लिखित बधाई पठाएपछि देउवाको आलोचना भएको छ।
‘आफ्ना समकक्षीलाई बधाई तथा शुभकामना दिने अन्तर्राष्ट्रिय प्रचलन छ,’ एक पूर्वपरराष्ट्र सचिवले सेतोपाटीसँग भने ‘प्रोटोकल बाहिर गएर, त्यो पनि औपचारिक रूपमा पठाइने बधाई तथा शुभकामना अशोभनीय हुन्छ।’
पार्टी सभापति तथा पूर्वप्रधानमन्त्रीका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्ष तथा गृहमन्त्री अमित शाहलाई बधाई पठाउनु जायज भए पनि जयशंकरलाई पठाएको बधाईलाई लिएर कांग्रेस पार्टीभित्र र बाहिर देउवाको आलोचना भएको छ।
भारतको निर्वाचन परिणाम आएलगत्तै देउवाले मोदी र शाहलाई लिखित बधाई पठाएका थिए।
मोदीले एस जयशंकरलाई परराष्ट्र मन्त्री नियुक्त गरेपछि देउवाले उनलाई लिखित बधाई पठाएका हुन्।
‘हाम्रो पार्टीसँग निकट सम्बन्ध भएको भाजपाको कुनै ठूलो नेता परराष्ट्र मन्त्री नियुक्त भएको भए पनि लौ ठिकै छ भन्नु,’ कांग्रेसका एक नेताले भने ‘ उनी त पूर्वकर्मचारी हुन्, जसको नेपालसँगै तिक्ततापुर्ण सम्बन्ध छ।’
जयशंकर तिनै व्यक्ति हुन् जो २०७२ असोजमा नेपालको संविधान जारी हुनु केही घन्टा पहिले मोदीका दूत बनेर काठमाडौं उत्रिएका थिए।
उनी दूत बनेर आएनन् मात्र, प्रमुख दलका शीर्ष नेताहरूसँगको भेटमा कूटनैतिक मर्यादा बिर्सिएर अशोभनीय हिसाबले प्रस्तुत भए। माओवादी केन्द्रका तत्कलीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराईलाई त उनले ‘भारतले सहयोग नगरेको भए तिमीहरू अहिलेसम्म सडकमै हुने थियौ’ सम्म भने।
नेपाली कांग्रेस र एमालेका नेताहरूलाई पनि उनले भारतको चासो नसुनी संविधान जारी गरे त्यसको परिणाम भोग्नु पर्ने चेतावनी दिए।
नेपालका नेताहरूले संविधान घोषणा पर सार्नु पर्ने उनको प्रस्तावलाई लत्याइदिएपछि संविधान जारी हुनासाथ भारतले नेपालमाथि नाकाबन्दी लगायो। झन्डै ६ महिना चलेको उक्त नाकाबन्दीले नेपाली जनजीवन अस्तव्यस्त बन्यो।
उक्त नाकाबन्दीका ‘सुत्रधार’ मानिएका जयशंकर भारतका विदेश मन्त्री बनेपछि उनले नेपाल-भारत सम्बन्धलाई कसरी लैजालान् भन्ने नेपालमा चासो बढेको छ। केहीमा शंका पनि छ।
यही चासो, चर्चा र शंकाबीचमा पूर्वप्रधानमन्त्री एंव प्रमुख प्रतिपक्षी दलका नेताले देउवाले जयशंकरलाई मन्त्री बनेकोमा बधाई पठाएका छन्।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्ण पौडेलले देउवाले सभापतिको हैसियतामा इमेलमार्फत् जयशंकरलाई बधाई सन्देश पठाएको सेतोपाटीलाई बताए।
उनको बधाई इमेलमा जयशंकरको ‘अनुभव र ज्ञानले’ नेपाल-भारत सम्बन्धलाई थप उचाइमा पुर्याउने उल्लेख छ।
‘चुनावको परिणाम आउनासाथ प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाहलाई बधाई सन्देश पठाउनुभएको थियो,’ पौडेलले सेतोपाटीसँग भने,‘मन्त्री बनेपछि जयशंकरलाई पनि पठाउनु भएको हो।’
पूर्वप्रधानमन्त्रीका रूपमा मोदी र पार्टी सभापतिका हैसियतमा शाहलाई बधाई पठाउनु त स्वभाविक हो तर मोदी मन्त्रिमण्डलमा ११ औं वरीयतामा रहेका जयशंकरलाई बधाई किन? भन्ने प्रश्नमा पौडेलले भने, ‘त्यो त सभापतिज्यूले पठाउनु भएको हो हामीलाई थाहा भएन।’
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जयशंकरलाई पठाइएको बधाई सन्देशबारे आफूलाई कुनै जानकारी नभएको बताए।
‘पार्टी केन्द्रीय कार्यालयबाट पठाइएको हो भने प्रवक्तालाई जानकारी हुनुपर्ने हो, म अहिले राजधानीबाहिर छु। यस विषयमा मलाई कुनै जानकारी छैन,’ प्रवक्ता शर्माले भने।
कांग्रेसका एक केन्द्रीय सदस्यले पनि सभापति देउवाले आफ्नो मर्यादा भुलेर पार्टीमा छलफल नै नगरी जयशंकरलाई बधाई पठाएको बताए।
‘अब दुनियाँका कुन-कुन ठाउँमा को-को बन मन्त्री नियुक्त भए पनि कांग्रेस सभापतिले बधाई दिनुपर्छ र! यो ठीक भएन,’ ती केन्द्रीय सदस्यले भने,‘फेरि जयशंकर त्यस्ता पात्र हुन्, जोसँग नेपालीको पूरानो हिसाब पनि बाँकी छ।’