नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट राष्ट्रिय गौरवको आयोजना बनाउनुपर्ने बताएका छन्।
सांसदलाई ६ करोडका दरले बजेट दिएर विकासभन्दा पनि भ्रष्टाचार हुने उनको आरोप छ। ‘सांसदलाई ६ करोड दिनु भनेको भ्रष्टाचारको अभ्यास हो,’ उनले भने।
सोमबार नवलपुरमा पत्रकारहरुसँगको कुराकानीमा पौडेलले सांसदलाई दिने रकमलाई बास्केट फ्रन्ट बनाएर राष्ट्रिय गौरवको आयोजनामा खर्च गर्नुपर्ने बताए।
वडा, गाउँ/नगरमा जनप्रतिनिधि रहेकोले केन्द्रका सांसदलाई योजना छानेर बजेट दिइराख्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
अब बस्ने कांग्रेस केन्द्रीय समितिमा सांसदले पाउने रकम र तलबभत्ताले कोष बनाउन प्रस्ताव लैजाने उनले बताए।