सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अष्ट्रेलिया, कतार, स्पेन र बंगलादेशका राजदूत सिफारिस गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीच भागबन्डा गरेर परराष्ट्र सेवा बाहिरका चार जनालाई राजदूत सिफारिस गरिएको हो।
मन्त्रिपरिषद् स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कतार र स्पेन, दाहालले अष्ट्रेलिया र नेपालले बंगलादेशका राजदूत भागबन्डा गरेका हुन्। जसअनुसार महेशप्रसाद दाहाल (अष्ट्रेलिया), नारद भारद्वज (कतार), दावाफुटी शेर्पा (स्पेन) र वंशिधर मिश्र (बंगलादेश) राजदूत सिफारिस भएका छन्।
‘प्रधानमन्त्रीले राजदूतका लागि चार जनाको नाम लिएर आउनुभयो, हामीले क्याबिनेटमा सामान्य छलफल गरेर ती नाममा सहमति जनायौं,’ एक मन्त्रीले सेतोपाटीसँग भने।
राजदूत सिफारिस भएकी दावाफुटी शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी हुन्।
अहिले उनी प्रधानमन्त्री ओलीको कोटामा राजदूत सिफारिस भएकी छन्। पासाङ ल्ह्यामुका देवर आङछिरिङ शेर्पासँगको सम्बन्धले प्रधानमन्त्रीले दावाफुटीलाई राजदूत सिफारिस गरेका हुन्।
‘यति एअरलायन्स सञ्चालकसँग प्रधानमन्त्री धेरै नै निकट छन्,’ यति एअरलायन्सका सञ्चालक तथा दावाफुटीका बुवा लाक्पा सोनाम शेर्पाको पारिवारिक स्रोतले सेतोपाटीसँग भन्यो, ‘त्यसकारण पनि हाम्रो परिवारको सदस्यले सानै उमेरमा राजदूतका लागि सिफारिस पायो।’
३४ वर्षकी दावाफुटी अमेरिकामा अध्ययन गरेर भर्खरैमात्रै नेपाल फर्किएकी हुन्। उनी अहिले पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन्। यसअघि पूर्वमन्त्री कृपासुर शेर्पा फाउन्डेसनका अध्यक्ष थिए। शेर्पाले नै धुम्बाराहीस्थित भवन फाउन्डेसनकै भवनमा नेकपाको केन्द्रीय कार्यालय राख्न दिएका थिए।
नेपालको आन्तरिक र कूटनीतिक मामिलाबारे त्यतिधेरै जानकारी नराख्ने दावाफुटीलाई प्रधानमन्त्री ओलीले आङछिरिङसँगको सम्बन्धका कारण राजदूत सिफारिस गरेको एक नेकपा नेताले बताए।
गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित यति एअरलायन्सका सञ्चालक आङछिरिङ शेर्पाको पनि निधन भएपछि एअरलायन्सको जिम्मेवारी उनका दाजु लाक्पा सोनाम शेर्पाले सम्हाल्दै आएका छन्।
यो पनि पढ्नुस्: