नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ६५ वर्ष उमेर कटेका नेताहरूले पार्टीबाट नेतृत्व छाड्नुपर्ने बताएका छन्।
युवालाई पार्टीको नेतृत्वमा पुर्याउन ६५ कटेका नेताले नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनको भनाइ छ।
पार्टीलाई संगठित र एकतावद्ध पार्टीका रूपमा पुर्याउन उनले आग्रह गरे।
‘६५ नाघेका हामीजस्ताले पार्टी नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्छ,’ सोमबार काठमाडौंमा भएको देशको परिस्थिति र नेपाली कांग्रेसको भूमिका विषयक विचार गोष्ठीमा उनले भने, ‘युवा साथीहरूले विचार र संगठनले हामीलाई जित्नुहोस्।’
उनले सत्ता र प्रतिपक्ष गलत बाटोमा हिँडिराखेकोले देशको हित नहुने बताए।
‘सत्ता गलत बाटोमा हिँडिराखेको छ। कांग्रेस कमजोर बाटोमा छ,’ उनले भने, ‘सच्चिएर गएनन् भने यी दुवै राज्यका हितमा हुँदैनन्।’
देशको राजनीति पछिल्लो समय समाजवाद उन्मुखभन्दा राजनीतिक हिसाबले दुर्घटना उन्मुख रहेको उनले बताए।
गुठी विधेयकको विरोधमा उत्रिएको प्रदर्शनले प्रधानमन्त्री केपी शर्मा ओलीको चेत खुलेको उनको भनाइ छ।
‘गुठी केसबाट सडकको कुरा सुन्नुपर्छ भन्ने प्रधानमन्त्रीको अलिकति चेत खुलेको होला,’ उनले भने, ‘सत्ताले गल्ती गरेको छ। संवैधानिक निकायमाथि हस्तक्षेप गरेको छ। राजनीतिक आस्थाका आधारमा भेदभाव गरेको छ। पूर्ण स्वतन्त्र प्रेसमाथि हस्तक्षेप तर्साएर राखेको छ।’
पार्टीभित्र एकता नभएको उल्लेख गर्दै उनले मूल्यांकनको आधारमा न्यायपूर्ण तवरले एकता थाल्नुपर्ने बताए।
‘काठमाडौंमा बसेर संगठन विस्तार हुन्न,’ उनले भने, ‘बीपीले भनेझैं गरिबकहाँ कांग्रेस पुग्न सकेन।’