चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरिएको छ।
लोक सेवा आयोग अध्यक्ष उमेश मैनाली नेतृत्वको सिफारिस समितिले डा. सुरेन्द्र शेरचन, शम्भु पहारी र श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको शिक्षा मन्त्रालय स्रोतले जनायो।
समितिले बुधबार शिक्षा मन्त्रालयमा सिफारिस पठाएको शिक्षा स्रोतको भनाइ छ। तर, मन्त्रालयले सिफारिस भएका नामबारे औपचारिक रुपमा पुष्टि गरेको छैन।
‘समितिले अन्तिम नामावली सिफारिस गरेर पठाएको हो, सिलबन्दी नखोलिएको हुनाले क-कसको नाम आयो थाहा भएन,’ शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भने।
आयोग उपाध्यक्षका लागि ११ जनाले आवेदन दिएका थिए। तीमध्ये दुई जनाको नाम रद्द भएको थियो। बाँकी ९ मध्येबाट तीन जनाको नाम सिफारिस भएको जनाइएको छ।
पहिलो नम्बरमा सिफारिस भएका शेरचन मानसिक अस्पतालका पूर्वनिर्देशक हुन्। पहारीले लामो समय वीर अस्पतालमा काम गरेका छन्।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलनिकट गिरी हाडजोर्नी विशेषज्ञ हुन्। उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्वरेक्टर थिए।
यी नाम मन्त्रालयले आगामी मन्त्रिपरिषदको बैठकमा लैजाने तयारी गरेको छ।
तीन सदस्यीय छनोट समितिमा मैनाली अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना र डा. दिव्या सिंह सदस्य छन्।