नेपाली कांग्रेसले कास्की पार्टी कार्यालय भित्रबाट कार्यकर्ता पक्राउ परेकोमा विरोध गरेको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर विद्यार्थी नेतामाथि सोमबार पार्टी कार्यालयभित्रै सुरक्षाकर्मीले लाठीचार्ज गर्दै पक्राउ गरेकोमा विरोध गरेका छन्।
‘कास्कीको पार्टी कार्यालयभित्रै प्रवेश गरी सरकारको आडमा सुरक्षाकर्मीद्वारा विद्यार्थी नेताहरुमाथि लाठी प्रहार गरी सख्त घाइते बनाएका छन्,’ उनले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘विष्णु पहारी र सुमन विमलीलाई गिरफ्तार गरेका छन्।’
साथै शान्तपूर्ण विरोध प्रदर्शनमा विक्रम पौडेल र असिम सुवेदीलगायतलाई गिरफ्तार गरेकोमा पनि कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ।
कांग्रेसले पृथ्वीनारायण क्याम्पस पोखराका विद्यार्थी नेता रोशन हमाललाई पक्राउ गरेकोमा पनि विरोध गरेको छ।
‘क्याम्पस परिसरबाटै नेविसंघका रोशन हमाललाई सुनियोजित रुपमा विना कारण प्रहरीले गिरफ्तार गरी झुठ्ठा मुद्दामा फसाउने नियत देखाएको छ,’ पौडेलले भनेका छन्, ‘नेविसंघले रोशन हमालको रिहाइको माग गर्दै निकालेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनद्वारा विद्यार्थीमाथि जथाभावी बल प्रयोग गरेको छ।’
पक्राउ परेका विद्यार्थीको तत्काल रिहाइ गर्न कांग्रेसले माग गरेको छ।