तत्काल केन्द्रीय समिति बैठक बोलाउन पर्ने पक्षमा रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूले पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक भेला गरेका छन्।
केन्द्रीय समिति बैठक बोलाउन हस्ताक्षर अभियान चलाइरहेका उनीहरू सोमबार दिउँसो पार्टी कार्यालयमा भेला भएका हुन्।
‘हामीले एकताका लागि दबाब दिन धर्ना पनि दिएका छौं,’ केन्द्रीय सदस्य ठाकुर गैरेले भने,‘सोमबारसम्म केन्द्रीय समिति बैठक डाक्न १०० जनाजति साथीहरूले हस्ताक्षर गर्नुभएको छ।’
आज भेला भएकाहरूले पनि पार्टी अहिले गम्भीर मोडबाट गुज्रिरहेकाले पार्टी केन्द्रीय समितिको बैठक बोलाउनु आवश्यक हुनेबारे छलफल गरेको उनले बताए।
यसअघि बैठक माग गर्ने ५३ केन्द्रीय सदस्यले शनिबार जुम मिटिङ गरेका थिए।
‘अहिले नेकपा जुन मोडबाट गुज्रिरहेको छ, त्यसको निर्णय ४५ सदस्यीय स्थायी समितिले भन्दा ४४१ जनाको केन्द्रीय समितिले झन् सुझबुझका साथ गर्न सक्छ,’ हस्ताक्षर अभियान चलाउनेमध्येका एक केन्द्रीय सदस्य ठाकुर गैरेले सेतोपाटीसँग भने,‘केन्द्रीय समितिले नै पार्टी एकताका पक्षमा दबाब दिन सक्छ भन्ने लागेर हामीले हस्ताक्षर थालेका हौं।’
नेकपाको विधानअनुसार २५ प्रतिशत अर्थात् ११० जना सदस्यले हस्ताक्षर गरे केन्द्रीय समिति बैठक बोलाउनु पर्छ।
नेकपामा अहिले स्थायी समिति बैठक चलिरहेको छ। असार १० गतेदेखि सुरू भएको बैठकमा अहिलेसम्म बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको आलोचना गर्दै उनको राजीनामा माग गरेका छन्।
प्रधानमन्त्री ओली स्थायी कमिटीमा चरम अल्पमतमा परेपछि बैठक सर्दै आएको छ। यही बीचमा सरकारले संसदको बजेट अधिवेशन अन्त्य गरेकाले ओलीले दल विभाजनसम्बन्धी अध्यादेश फेरि ल्याउन लागेका हुन् कि भन्ने आशंका उब्जिएको छ।
शनिबार साँझ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदका सदस्यहरूलाई बोलाएर पार्टी फुटको संघारमा पुगेकाले तपाईंहरू कुन कित्तामा उभिन टुंगो लगाउनुस् नै भनेका थिए।
विवाद मिलाउन ओली र प्रचण्डबीच एक्लाएक्लै र सामूहिक वार्ता भए पनि नेकपाको विवाद साम्य भएको छैन।
बुधबार बिहान स्थायी समिति बैठक पुन: बस्दैछ।