नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर मृत्यु भएका बुद्धिराज न्यौपाने (सञ्जय) को परिवारलाई भेटेका छन्।
गत मंगलबार प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका न्यौपानेको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको थियो।
बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम् बस्तीकी ६ वर्षिया बालिका गुलाबसा खातुनको शव गत सोमबार राति बोराभित्र फेला परेपछि बर्दिबासमा आफन्त र स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। घाइते भएका तीन जनामध्ये न्यौपानेको उपचारका क्रममा मृत्यु भएको थियो।
कांग्रेस प्रवक्ता शर्माले शुक्रबार न्यौपानेका परिवारलाई भेटेर समवेदना व्यक्त गरेका हुन्। शर्माले स्थानीय बासिन्दासँग पनि भेटघाट गरेका छन्।
न्यौपानेकी श्रीमती र छोरा कोरामा बसेका छन्। शर्माले उनीहरूसँग भेटेर घटनाप्रति दु:ख व्यक्त गर्दै समवेदना प्रकट गरेका हुन्।
प्रहरीको गोलीबाट मृत्यु भएको उक्त घटनाबारे गृह मन्त्रालयले छानविन टोली गठन गरेको छ।