प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज देशव्यापी रूपमा भएको प्रदर्शन वर्तमान सरकार र उसको सर्वसत्तावादी प्रवृत्तिविरूद्ध जनमत प्रकट भएको बताएका छन्।
‘एक्कासौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मार्गबाट नै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत आज प्रकट भएको छ’, देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसका साथै उनले प्रदर्शनमा सहभागी भएका सबैलाई बधाई दिएका छन्।
आजको प्रदर्शनले पार्टीलाई नवीन ऊर्जा मिलेको र यही ऊर्जालाई अभिवृद्धि गर्दै आफूहरू आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उनले बताएका हुन्।
‘आजको प्रदर्शनले नेपाली कांग्रेस पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको छ। यो ऊर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु’, विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु।’
सरकारविरूद्ध आज कांग्रेसले देशैभर प्रदर्शन गरेको हो।