ओली समूहका नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले केपी ओलीलाई अस्वीकार गर्नुको कारण अहिले देशले खोजिरहेको बताएका छन्।
नेकपा ओली समूहको प्रदेश १ भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेम्वाङले प्रधानमन्त्री ओलीको नेतृत्वमा देश स्थिरता र समृद्धिको दिशामा अघि बढिरहेका बेला त्यसलाई अस्वीकार गरेर राम्रो काम नगरिएको बताएका हुन्।
उनले प्रधानमन्त्री केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजिएको के हो भन्दै प्रचण्ड-नेपाल समूहलाई प्रश्न गरेका छन्।
‘प्रधानमन्त्री केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजिएको के हो? देशले त्यसको जवाफ खोजिरहेको छ। मेचीदेखि महाकालीसम्मका कार्यकर्तापंक्तिले जवाफ खोजिरहेका छन्,' उनले प्रश्न गरे।
ओलीले पार्टी महाधिवेशनबाट पद हस्तान्त्रण गर्न चाहेको तर अर्को पक्षबाट त्यस्तो गर्न नदिइएको उनको भनाइ थियो ।
उनले महाधिवेशनमा ओलीसँगै पराजित भएका माधव नेपालले ओलीलाई हटाएर आफैं बनेको कुरामा कटाक्ष गरेका छन्। उनले व्यंग्यपूर्वक आफूले उनको नाम पनि भुलेको बताएका छन् ।
‘केपीलाई कारबाही गरेका को अध्यक्ष हुनु भो रे? नाम बिर्सें मैले,’ उनले भने, ‘हाम्रै अध्यक्ष केपी ओलीसँग केही समयअघि हार्नु भएको थियो। अहिले उहाँलाई निकालेर आफैं अध्यक्ष हुनुभएछ। कस्तो सजिलो कुरा?’