प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ भइरहेको छ। अहिलेसम्मको सुनुवाइका क्रममा रिट निवेदकका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन्।
बिहीबार बहस गर्दै अधिवक्ता टीकाराम भट्टराईले संविधान सभाका अध्यक्ष र महान्यायाधीवक्ता अग्नि खरेललाई व्यङ्ग्य गरेका छन्।
संविधान निर्माण गर्दा विगतका खराबी हटाउन विघटनको अधिकार हटाइएको भन्दै प्रमाण चाहिए सुवास नेम्वाङ र अग्नि खरेलको भिडिओ देखाउन तयार रहेको उनले इजलासलाई बताएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने त्यो पहिल्यै आइसकेको बताए।
त्यसपछि भट्टराईले भने, 'जुरिसको विचार पनि संविधानको स्रोत हो। ती भिडिओ प्रमाणका रूपमा हेरे हुन्छ। अहिले हाम्रा महान्याधीवक्ताले प्रधानमन्त्रीका जस्तासुकै कृत्यको पक्षमा बहस गर्नपर्ने भएकाले उहाँ चुप लाग्नुपर्ने बाध्यता छ।'
भट्टराईले बहस गरिरहँदा इजलासको बारमा महान्यायाधीवक्ता खरेल पनि उपस्थित थिए।
उनले महान्यायाधीवक्ता खरेलले पुरानै कुरामा समर्थन गरेर बहस गर्ने आफूलाई विश्वास रहेको भन्दै ब्यङ्ग्य गरे।
भट्टराईले प्रधानमन्त्री केपी ओलीले आफूबाहेक अरू कोही प्रधानमन्त्री हुनै नसक्ने जिकिर गरेकोमा पनि प्रश्न गरे।
'उहाँले लिखित जवाफ र भाषणमा आफूबाहेक प्रधानमन्त्रीदिन संसदले नसक्ने भन्नुहुन्छ। दिने कि नदिने भनेर संसदको अधिकार हो,' उनले भने,'नयाँ सरकार दिने कि नदिने प्रतिनिधि सभामा परीक्षण हुन्छ। राष्ट्रियसभामा होइन, उहाँको परीक्षण प्रतिनिधि सभामा हुन्छ।'