उपप्रधानमन्त्री ईश्वर पोखरेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएकाले समस्या भएको बताए।
१ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टी एकता गर्दाको समयमा ढंग नपुगेका कारण समस्या भएको बताए।
सर्वोच्च अदालतको फैसलापछि एकीकृत पार्टीहरुको अवस्था २०७५ साल जेठ ३ गते आगाडिको अवस्थामा पुगेको उनको भनाइ छ।
अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने उनको भनाइ छ।
‘अब विचारमा खदिलो बनाएर, संगठन राम्रो र नेतृत्वमा योग्यता क्षमता पुगेका साथीलाई स्थापित गरेर अघि बढ्नुपर्छ’ उनले भने।
केही समय अगाडि नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रधानमन्त्री ओली समूहका तर्फबाट थप गरिएका केन्द्रीय सदस्यहरु पनि नेकपा एमालेकै केन्द्रीय सदस्य हुने उनको दावी छ।
उनले नेकपा एमाले सूर्य चिन्ह सहित सबैलाई समेटर अघि बढ्ने बताए। प्रधानमन्त्री केपी ओलीको नाममा भोट मागिएको र ओलीलाई नै जनताले विश्वास गरेकाले विकल्प खोज्ने विषय अस्वभाविक भएको उनको तर्क छ।