कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले गत शुक्रबार संसद बैठक क्रममा प्रधानमन्त्रीतर्फ लक्षित गर्दै गरेको टिप्पणीप्रति आत्मालोचना गरेका छन्।
उनले शुक्रबार बागमती प्रदेशसभा बैठकमा आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए। गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए।
प्रधानमन्त्रीतर्फ लक्षित यस्तो भनाइ अशोभनीय, अमर्यादित र संसदीय मर्यादाविपरीत भन्दै सामाजिक सञ्जालहरूमा वैद्यको आलोचना भएको थियो। उनलाई नेपाली कांग्रेसले आफ्नो शब्द फिर्ता लिई आत्मालोचना गर्न निर्देशन दिएको थियो।
वैद्यले शनिबार प्रदेशसभा बैठक क्रममा लिखित आत्मालोचना प्रस्तुत गर्दै आफूले अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपभोग गरेको स्वीकार गरे। उनले आफ्नो भनाइ प्रदेशसभाको रेकर्डबाट हटाउन आग्रह गरेका छन्।