नेपाली कांग्रेसको संगठन विभागले भदौमा पार्टीको १४ औं महाधिवेशन हुने बताएको छ।
संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले आज विज्ञप्ति निकालेर भदौ १६ देखि १९ सम्म महाधिवेशन प्रस्ताव भएको र सोही बेला महाधिवेशन हुने उल्लेख गरेका छन्।
महाधिवेशन मितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ।
भदौभित्रै महाधिवेशन गर्नुपर्ने बाध्यता रहेकोले महाधिवेशन तयारीमा लाग्न पनि संगठन विभाग प्रमुख श्रेष्ठले आग्रह गरेका छन्।
‘कांग्रेसको १४ औं महाधिवेशन यही भदौ मसान्तसम्म गर्नु पर्ने संवैधानिक वाध्यता समेतलाई ध्यानमा राख्दै पार्टी पदाधिकारी वैठकको निर्णयअनुसार यहि भाद्र १६-१९ गतेसम्म पार्टीको महाधिवेशन गर्ने प्रस्ताव बमोजित स्वास्थ्यका सबै मापदण्ड अपनाई तोकिएको समयसीमाभित्र स्थानीय, प्रदेश र केन्द्रको अधिवेशन गर्न पार्टीका सम्पूर्ण तह र तप्काका साथीहरु, भातृ र सुभेच्छुक संस्था तथा विदेशस्थित जनसम्पर्क समितिका साथीहरुलाई हार्दिक आव्हान गर्दछु,’ श्रेष्ठले भनेका छन्।
साथै संगठन विभागले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित हुनुपर्ने पनि बताएको छ। ओली सरकार विस्थापित गर्न राजनीतिक र कानुनी लडाइँ लड्न पनि श्रेष्ठले अपिल गरेका छन्।
ओली सरकार कामचलाउ हैसियतमा रहेको र गैरजिम्मेवारी काम गरिरहेको आरोप श्रेष्ठले लगाएका छन्।
साथै कोरोना खोप सबै नागरिकका लागि उपलब्ध गराउन पनि कांग्रेस संगठन विभागले माग गरेको छ।