लोकतान्त्रिक समाजवादी पार्टीले एमसिसीको पक्षमा आफूहरू रहेको बताएको छ।
आज एमसिसीबारे प्रतिनिधि सभामा सैद्धान्तिक छलफलमा भाग लिँदै लोसपा अध्यक्ष महन्थ ठाकुरले आफूहरू एमसिसीको पक्षमा रहेको बताएका छन्।
‘एमसिसीमा अमेरिकाको लक्ष्य सकारात्मक छ, त्यसैकारण हाम्रो पार्टी समर्थन गरिरहेको छ,’ उनले भने।
उनले अमेरिकाले विगतदेखि नै सडक, सञ्चार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै एमसीसीमार्फत् आएको सहयोग अनुदानको रुपमा आएको बताए।
अध्यक्ष ठाकुरले सो अनुदानले नेपालको गरिबी कम गर्ने र अर्थिक वृद्धि गर्ने लक्ष्य राखेको पनि उल्लेख गरे। ‘सरकारले संसदमा प्रस्तुत गरेको अमेरिकी सहायता परियोजना एमसिसीको पक्षमा छु। अमेरिकाले नेपाललाई सात दशकदेखि विकास सझेदारको रुपमा नेपालको विकास निर्माणमा सहयोग गर्दै आएको छ। राष्ट्रिय हित र राष्ट्रिय संरक्षणको हरेक क्षेत्रमा सडक, सञ्चार, शिक्षा, स्वास्थ्य र कृषि गरी प्रत्येक क्षेत्रमा अमेरिकाको केही न कही सहयोग देखिन्छ’, उनले भने, ‘अहिले वर्तमान सहयोग आएको छ। जुन अनुदानको रूपमा छ। जसमा विशेष गरेर गरिबी निवारणको विषय तोकिएको छ । अनुदानको उद्देश्य नेपाललाई आर्थिक वृद्धि र गरिबीलाई कम गर्ने र सर्वसाधरण जनताको जीवन स्तर सुधार गर्ने राम्रो लक्ष्य लिएर अनुदानको रुपमा आएको छ।’
अध्यक्ष ठाकुरले नेपालले अनुदान पाउने मापदण्ड पुरा गरेकाले मात्रै अनुदान पाएको बताए। उनले आयोजना निर्माणमा हुने बौद्धिक सम्पति नेपालले नै पाउने उल्लेख गरे।
उनले खर्च हुने कुरामा निर्धारण गरिएको मापदण्ड नेपाल सरकारद्वारा नै निर्धारण गरिएको दाबी गरे। ‘यसबाट आउने सहयोग विद्युत र सडक निर्माण तथा सडक मर्मत सम्भारमा खर्च हुने छ । आयोजना निर्माणमा हुने बौद्धिक सम्पति नेपालले नै पाउने हो । यो सहयोग त्यसै आएको होइन । नेपालले अनुदान पाउन मापदण्ड पुरा गरेकाले पाएको हो,’ उनले भने।