राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार आज कार्यसम्पादन समिति गठन गरेका हुन्।
विधानअनुसार ३३ सदस्यीय समिति बनाउनुपर्ने भए पनि अहिले २० सदस्यीय समिति बनाइएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
‘कार्यसम्पादन समितिमा बाँकी १३ जना सदस्य पनि अध्यक्षले छिट्टै मनोनीत गर्नुहुन्छ,’ उनले सेतोपाटीसँग भने।
समितिमा अध्यक्ष लिङ्देन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, बिक्रम पाण्डे, ध्रुबबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ, मुकुन्द श्याम गिरी छन्।
साथै महामन्त्री धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरूङ, प्रल्हाद साह पनि कार्यसम्पादन समितिमा छन्।
केन्द्रीय सदस्य दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा, ऋषिबाबु परियार पनि केन्द्रीय कार्यसम्पादन समितिमा समेटिएका छन्।