शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल सुनिलले काठमाडौंको त्रिचन्द्र कलेज भवन पुनर्निर्माण गरिने बताएका छन्।
यसै आर्थिक वर्षदेखि त्रिचन्द्र कलेज भवन पुनर्निर्माण अघि बढ्ने उनले बताए।
बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको मन्त्रालयका तर्फबाट जवाफ दिँदै प्रतिनिधि सभा बैठकमा आज मन्त्री पौडेलले त्रिचन्द्रको भवन बन्ने बताएका छन्।
‘उच्च शिक्षा प्रदायक त्रिचन्द्र कलेज लगायतका आंगिक क्याम्पसको भौतिक निर्माण कार्य सुरू गरिनेछ,’ उनले भने। नेविसंघले आज पनि प्रदर्शन गर्दै त्रिचन्द्रको भवन बनाउनुपर्ने बताएको थियो।
उनले आगामी तीन वर्षमा सबै सामुदायिक विद्यालयको न्युनतम भौतिक पूर्वाधार विकास गर्ने पनि बताए।
भूकम्प प्रभावित ३२ जिल्लामा विद्यालय पुनः निर्माण कार्य सकिएको र ४५ जिल्लामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय भवन निर्माण कार्य गरिएको उनको भनाइ थियो।