नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका स्थायी कमिटीका सदस्यहरूप्रति लक्षित गर्दै १० भाइ दास बनेर बसेको टिप्पणी गरेका छन्।
शनिबार पार्टीको केन्द्रीय कमिटीलाई लक्षित गर्दै उनले आफूहरूले विद्रोह नगरेको भए एमालेमा दास बनेर बस्नुपर्ने अवस्था सिर्जना हुने बताए।
‘बाध्य भएर हामीले विद्रोह गर्नुपरेको थियो। अहिलेसम्मको घटनाक्रमले के पुष्टि गरेको छ भने त्यो विद्रोह गर्नै पर्थ्यो। त्यो जायज थियो। विद्रोह नगरेको भए हामी दास बन्नुपर्थ्यो। या राजनीतिबाट पलायन भएर हिँड्नुपर्थ्यो,’ उनले भने।
अहिले पार्टीमा बसिरहेका १० भाइहरूले पनि आँखा नखोलेको र दास भएर बसिरहेको उनले टिप्पणी गरे।
‘अहिलेसम्म पनि कसैको आँखा खोलेको छैन भने उनीहरूको पनि आँखा खुलोस्। यी कथित १० भाइका, विभिन्न मानिसका अभिव्यक्ति म सुन्दैछु। अझै पनि उनीहरूको दिमागबाट नशा उत्रेको छैन। तथानाम, जथाभावी लेखिरहेका छन्,’ उनले भने, ‘दासोचित ढंगले त्यहाँ बसिरहेका छन्। कुनै मूल्य र मान्यता उनीहरूको छैन। कुनै पदीय गरिमाको उनीहरूले सम्मान पाएका छैनन्। तर पनि अहिले हामीलाई धारेहात लगाउनका लागि दुष्साहस गरिरहेका छन्। नगरौं।’
एमाले नेता भीम रावल, घनश्याम भुसालसहित १० जनाले नेताले ओलीका क्रियाकलापको विरोध गर्दा नेपाललाई साथ दिएका थिए।नेपालले एकीकृत समाजवादी गठन गर्दा उनीहरू एमालेमै बसेका थिए। उनीहरूलाई नै नेपालले दश भाइको संज्ञा दिएका हुन्।