प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नरहेको स्पस्टीकरण दिएको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी भएको जिकिर गर्दै सर्वत्र आलोचना भएपछि गभर्नर अधिकारीले एमालेलाई पत्र पठाएका थिए।
आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै गभर्नर महाप्रसाद अधिकारीले असार २९ गते एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य नरहेको र रहने कुरा सोच्नसमेत नसकिने जिकिर गरेका छन्।
‘म सम्पूर्ण राजनीतिक दल र नेतृत्वको सम्मान गर्छु। साथै त्यस दल लगायत अन्य कुनै पनि राजनीतिक दलको सदस्य नरहेको व्यहोरासमेत स्पष्ट पार्न चाहन्छु’, अधिकारीले लेखेको पत्रमा भनिएको छ,‘यसरी राजनीतिक पार्टीमा आवद्ध नरहेको तथा गभर्नर जस्तो जिम्मेवार पदमा रहेको व्यक्ति कुनै पार्टी विषेशको कुनै समितिमा रहने, बस्ने भन्ने कल्पना बाहिरको विषय हुँदा हुँदै यस प्रकारको भ्रम उक्त समिति गठनले श्रृजना गरेको हुँदा सो विषयमा स्पष्ट पारी मलाई समेत जानकारी उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु।’
उक्त पत्रको जवाफमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम. अधिकारी गर्भनर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी गरेका छन् ।
‘हाम्रो कमिटि र विभागमा सार्वजनिक पद धारणा गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था छैन। तसर्थ उक्त विभागको उल्लेखित एम. अधिकारी खोटाङ भनि उल्लेखित व्यक्ति तपाईँ राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यवहोरा स्पष्ट गर्दछु,’ कार्यालय सचिव भिष्म अधिकारीले भनेका छन्।
उक्त स्पष्टीकरण पत्रमा एम अधिकारी गर्भनर नभएको भनिए पनि अरू केही बताइएको छैन।
पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले संसद र संसदबाहिर अधिकारीको राजीनामा मागिरहेका छन्।