नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन्।
शनिबार काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नहुने बताएका हुन्।
उनले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै नरहने जिकिर गरे।
उनले स्वास्थ्य बीमाको पहुँच सबैमा पुर्याउने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै स्वास्थ्य बीमा भनेको सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा भएको बताए।
‘हामीले कल्पना गरेको स्वास्थ्य बीमा भनेको युनिभर्सल एक्सेस हो। त्यसैले यो सरकारले के सोचेर ल्यायो थाहा छैन। प्राइभेटलाई म दिन्छु भनेर गयो भने इन्स्योरेन्स नै रहँदैन,’ उनले भने, ‘इन्स्योरेन्स नै होइन। हाम्रो यो सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा हो। त्यसैले हामीले प्रिमियमबाट नै उठाउने पैसा र खर्च गर्ने पैसाको बीचमा ठूलो ग्याप रहन्छ।’
नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने उनले बताए।
उनले सरकारले स्वास्थ्यमा हुने खर्च घटाउने गरेर स्वास्थ्य प्रणालीका संरचनाहरू निर्माण गर्नुपर्ने बताए।
‘नागरिकको स्वास्थ्यमा हुने जुन खर्च छ, त्यो खर्च गर्ने कुरा हामीले यदी घटाउन सकेनौं भने अवस्था गाह्रो छ। हामी बीमा बीमा भनिरहेका छौं। सबैलाई बीमामा ल्याएर खर्च गर्ने हो भने सरकारले पुर्याउँछ कसरी ? हामीसँग पैसा कति छ ?,’ उनले भने, ‘हामीले सकेसम्म स्वास्थ्यमा हुने खर्च घटाउने गरेर हेल्थ सिस्टम विकास गर्न सकेनौं भने, प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न सकेनौं भने हामीले थेग्नै सक्दैनौं।’