नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बसिरहेको छ।
केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा संसदीय दलको नेताको चयन र भावी सरकारबारे छलफल गर्ने एजेन्डा छन्।
कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरू र शीर्ष नेताहरू छन्। कांग्रेसमा केन्द्रीय समिति नबसेको बेला केन्द्रीय समितिले गर्न सक्ने काम कार्यसम्पादन समितिले गर्ने गर्छ। कार्यसम्पादन समितिका निर्णय पछि बस्ने केन्द्रीय समितिबाट अनुमोदन हुने हुनुपर्दछ।
कांग्रेसले प्रतिनिधि सभामा ८९ सिट जितेको छ। कांग्रेसमा अब संसदीय दलको नेता छान्न चुनाव गर्ने कि सहमतिबाट गर्ने भन्ने छलफल हुन्छ। पार्टीका धेरै सांसद संसदीय दलको नेताका लागि इच्छुक भएकोले चुनाव हुन सक्ने देखिएको छ।
सभापति शेरबहादुर देउवा पुन: दल नेता हुन खोजेका छन् भने महामन्त्री गगन थापा पनि दल नेता बन्न खोजेका छन्। सँगै रामचन्द्र पौडेल र शेखर कोइराला पनि संसदीय दलको नेतामा चुनाव उठ्न खोजेको चर्चा हुने गरेको छ।