गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले एमाले प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रोशन गाहा मगरलाई तोकेका छन्।
दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित रोशन अर्थमन्त्रीका आकांक्षी थिए। संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री अधिकारीले बिहिबार पोखरामा बसेको संसदीय दलको बैठकमा रोशनलाई प्रमुख सचेतक तोकेका हुन्।
मुख्यमन्त्री अधिकारीले शुक्रबार बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्।
विश्वासको मत लिने प्रयोजनका लागि आफ्ना सांसदलाई ह्विप लगाउन आफू सचेतक चयन भएको रोशनले प्रतिक्रिया दिए।
‘भोलि मुख्यमन्त्रीले विश्वासको मत लिन ह्विप जारी गर्नका लागि म प्रमुख सचेतक तोकिएको हुँ,’ उनले सेतोपाटीसँग भने ।