अपहरण तथा शरीर बन्धक आरोपमा मंगलबार झापा प्रहरीले गौरीगञ्जका तीन जनालाई पक्राउ गरेको छ।
सिमावर्ती बिहार सुपौल जिल्ला किसनपुर थाना बस्ने मोहम्मद सद्धामका ७ वर्षीय छोरा मैफुज आलमलाई अपहरण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरको हो। गौरीगञ्ज वडा नम्बर ६ का बद्री यादव, ४ का विटु गुह्री र उनकी श्रीमती अन्जु मुखिया पक्राउ परेका हुन्।
पक्राउ परेका बद्री यादव पहलो संविधानसभामा झापा निर्वाचन क्षेत्र नं ७ बाट उम्मेदवारी दिएका थिए। संघीय समाजवादी फोरमबाट गौरीगञ्ज लगायत आसपासका क्षेत्रमा यादव सक्रिय रुपमा राजनीतिमा थिए।
मंसिर २० गते घर छेउमा खेल्दैै गरेको अवस्थामा चकलेट दिएर आलमलाई मोटरसाइकलमा चढाई नेपालतिर ल्याइएको भारतीय प्रहरी स्रोतले बताएको छ।
प्रहरी स्रोतका अनुसार ती बालकलाई बिछु गुह्रीको घरमा दुई दिनदेखि बन्धक राखिएको पाइएको छ। भारतीय प्रहरीले जनाए अनुसार त्यसपछि ती बालकलाई दमकस्थित देउराली होटलको कोठा नं १०७ मा बन्धक बनाई १५ लाख भारतीय रूपैयाँ फिरौती मागेको बताइएको छ।
अपहरणमा परेका मैफुज आलमलाई नेपाल प्रहरीले उद्धार गरी दमक प्रहरीमा राखेको छ। पक्राउ परेका बद्री यादव र विटु गुह्रीलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा र अन्जु मुखियालाई दमक प्रहरीले अनुसन्धानका लागि थुनामा राखेको नेपाल प्रहरीले जनाएको छ।
यता, भारतीय प्रहरीले आलमलाई अपहरण गरेको आरोपमा तीन जना भारतीयलाई समेत पक्राउ गरेको जनाएको छ। भारतीय नागरिकसंग मिलेर मैफुज आलमको अपहरणमा तीन नेपालीसहित ६ जनालाई दुबै देशका प्रहरीले पक्राउ गरेको हो।