असनको कोथुननीस्थित कम्तीमा पाँच सय वर्ष पुरानो अशोक वृक्ष विहार र मल्लकालीन व्यापार केन्द्र रहेको 'घडीघर' भत्काएर आधुनिक व्यापारिक 'कम्प्लेक्स' बनाउने गुठी संस्थानको निर्णयविरूद्ध शुक्रबार असनमा विरोध प्रदर्शन गरिएको छ।
मल्लकालमा ‘व्यापारिक केन्द्र’ का रूपमा विकास गरिएको यो घरलाई नेपालकै पहिलो ‘डिपार्टमेन्ट स्टोर’ मानिन्छ। यही घरमा रहेको अशोक वृक्ष विहारमा अमिताभ बुद्धको मन्दिर छ, जुन पन्ध्रौं वा सोह्रौं शताब्दीमा बनेको पुरातत्व विभागले पुष्टि गरेको छ। यसले यो घरकै आयु कम्तीमा पाँच वर्ष पुरानो जनाउँछ।
पुरातात्विक महत्वका आधारमा संरक्षण गरिनुपर्ने घर भत्काएर ‘कम्प्लेक्स’ बनाउन गुठी संस्थानले ‘बज्रयोगिनी बहुउद्देश्यीय कम्पनी’ नामक व्यापारिक संस्थासँग सम्झौता गरेको हो। सम्झौताअनुसार उक्त व्यापारिक समूहले २७ वर्ष यहाँ अकन्टक कारोबार गर्न पाउनेछ।
यहाँका बसोबासी, असनका स्थानीय तथा सम्पदाप्रेमीले उक्त सम्झौताविरूद्ध शुक्रबार असन चोकमा विरोधसभा आयोजना गरे।
काठमाडौंका सांसदहरू भीमसेनदास प्रधान, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ र राजेश शाक्यसहित समाजवादी पार्टी नेपालकी नेतृ हिसिला यमी लगायत सम्पदा संरक्षण अभियन्ताहरू कार्यक्रममा सहभागी थिए।
उनीहरूले सार्वजनिक सम्पत्ति मासेर व्यापारिक भवन बनाउने प्रवृत्ति अन्त्य नभए काठमाडौं उपत्यकाको मौलिक सभ्यता र संस्कृति विनाश हुने बताए।
सार्वजनिक सम्पत्ति संरक्षण र भाडा उठाउने जिम्मेवारी दिएर राखेको सरकारी निकाय गुठी संस्थान नै सम्पदा मास्न उद्यत रहेको उनीहरूको भनाइ थियो।
मल्ल राजाहरूले ‘मार्केट स्क्वायर’ को अवधारणामा असन चोक बनाएर पसलहरू विकास गरेका हुन्। असनको यो घर त्यतिबेलाकै सबभन्दा ठूलो किनमेल थलो थियो।
आठ आना तीन दाम क्षेत्रफलमा बनेको यो घरमा एकै छतमुनि १३ वटा पसल छन्। तीन परिवार बसोबास गर्छन्। घरको एउटा कोठामा अशोक वृक्ष विहार छ।
पृथ्वीनारायण शाहले काठमाडौं जितेपछि उनका छोरा बहादुर शाहले यो घर हड्पेको भनाइ छ। उनले दरबारमा मरेका वा मारिएका मान्छेको आत्माको शान्तिका लागि पूजाआजा गराउन ‘श्री ५ वायुदेवता गुठी’ चलाए। गुठीले यही घरबाट हनुमानढोकासम्म पूजा लैजान थाल्यो। घरबहालबाट उठेको पैसाले दसैं बेला हनुमानढोकामा पूजा लगिन्थ्यो। यो चलन कायम छ।
२०३१ सालमा नापी विभागका अधिकारी यहाँ फित्ता लिएर कित्ताकाट गर्न आए। वरपरका सबैले लालपुर्जा पाए, यो घरमा भने पसलहरू स–साना कित्तामा बाँडिएकाले नापीले सबैको एकीकृत ‘फिल्डबुक’ बनाएर गयो।
उक्त फिल्डबुकमा ‘सन्तान दर सन्तानले बहाल बुझाएसम्म बस्न पाउने गरी भोगचलन गरिआएको’ उल्लेख छ।
गुठी संस्थानले २०७० फागुन ८ गते गरेको करार सम्झौतामा पनि ‘सन्तान दर सन्तानदेखि बसी आएको’ भनिएको छ। उक्त करार २०७० फागुन १ देखि लागू भएको हो। पाँच वर्षको म्याद छ। त्यसपछि पनि हटाउने व्यवस्था छैन।
बरू प्रत्येक पाँच वर्षमा बहाल पुनरावलोकन गर्ने भनिएको छ। पुनरावलोकन गर्दा पाँच प्रतिशत वृद्धि हुनेछ। यसमा दुवै पक्षले मञ्जुरी गरेका छन्।
यो सम्झौताअनुसार बहालवालाले नियमित भाडा बुझाएसम्म हटाउन मिल्दैन। महिना गुज्रेको ६० दिनभित्र बहाल चुक्ता नगरे बल्ल पसल कब्जामा लिन सकिने उल्लेख छ।
यही प्रावधानमा टेकेर बहालवालाले आफूमाथि अन्याय भएको दाबी गर्दै आएका छन्।
गुठी संस्थानले भने २०७२ को भुइँचालोमा जीर्ण भएकाले पुनर्निर्माण गर्न लागेको तर्क गरेको छ। यहाँका बसोबासी यो तर्कसँग सहमत छैनन्।
‘१९९० को महाभूकम्पमा यो घर पूर्ण रूपमा क्षति भएपछि हाम्रा पुर्खाले संरचनामा कुनै फेरबदल नगरी जगदेखि नै पुनर्निर्माण गरेको इतिहास छ,’ स्थानीयले गुठीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ।
२०७२ को भुइँचालोपछि सम्बन्धित निकायबाट घर निरीक्षण गर्दा बस्नयोग्य ठहर गरी ‘रातो स्टिकर’ नटाँसिएको ज्ञापनपत्रमा उल्लेख छ।
यस आधारमा पूरै भत्काउनुको साटो ‘रेट्रोफिट’ गरेर यसको मौलिक स्वरूप जोगाउन सकिने यहाँका बसोबासी बताउँछन्।
पुनर्निर्माण नै गर्नुपर्ने भए पनि भोगचलन गर्दै आएका १४ परिवारले नै सामूहिक लगानीमा नयाँ निर्माण गर्न मञ्जुरी जनाएका छन्।
गुठीले गरेको करार सम्झौतामा पनि दैवी वा प्राकृतिक प्रकोपका कारण क्षति भए बहालवालाले नै मर्मत गर्ने भनिएको छ।
‘पुनर्निर्माण गर्नुपर्ने हो भने अहिलेको संरचना नमासिने गरी हामी आफैं गर्छौं भन्दाभन्दै व्यापारिक संस्थालाई सुम्पन खोज्नुले गुठीको नियत प्रस्ट हुन्छ,’ स्थानीय सजीव बज्राचार्यले भने।
व्यापारिक कम्प्लेक्सको योजना पहिलोपटक बनेको होइन।
यसअघि २०६२ सालमा पनि जग्गा भाडामा दिन खोजिएको थियो। त्यतिबेला एक जना तालुकदारले बहालवालालाई पत्तै नदिई नगरपालिकाबाट नक्सा पास गराएका थिए।
बहालवालाहरूले मुद्दा हाले। जिल्ला अदालतले जितायो। पुनरावदेन र सर्वोच्च अदालतमा भने उनीहरू हारे।
कानुनी लडाइँमा हारे पनि उनीहरूले विरोध गरिरहे। स्थानीयले साथ दिए। घर भत्काउने योजना सफल भएन। यसपालि गुठी संस्थान घर भत्काउने प्रपञ्चमा लागेपछि स्थानीय फेरि आन्दोलित भएका हुन्।
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी