साहित्य विधामा नोबेल पुरस्कार विजेता लेखक टोनी मोरिसनको निधन भएको छ। ८८ वर्षीया मोरिसनको न्यूयोर्कस्थित मोन्टफियोर मेडिकल सेन्टरमा सोमबार राती निधन भएको उनको परिवारले जनाएको छ। निधनको यकिन कारण थाहा नभए पनि उनी सामान्य बिरामी भएको बताइएको छ।
मोरिसनलाई अमेरिकामा अल्पसंख्यक समुदायको पक्षमा बोल्ने र लेख्ने लेखकका रुपमा चिनिन्थ्यो। उनले अफ्रिकी-अमेरिकीहरूप्रति हुने रंगभेदी व्यवहार र अन्यायविरुद्ध सशक्त आवाज उठाएकी थिइन्। काला जातिका अमेरिकीहरूले भोगेका विभेद र अन्याय उनका प्रमुख विषयवस्तु हुन्।
विशेषगरी काला जातिका महिलाहरूका अनुभव समेटेका उनका किताबले सन् १९३३ मा नोबेल पुरस्कार जितेको थियो।
मोरिसन नोबेल पुरस्कार जित्ने पहिलो अफ्रिकी–अमेरिकी महिला हुन्। 'द ब्लुएस्ट आई' उनको पहिलो उपन्यास हो। उनले हालसम्म ११ वटा उपन्यास, केटाकेटीका निम्ति धेरै किताब र निबन्धहरू लेखेकी छन्।
यीमध्ये 'सङ अफ सोलोमन' ले धेरै प्रशंसा र १९७७ मा 'नेसनल बुक क्रिटिक्स सर्कल अवार्ड' जितेको थियो। त्यस्तै उपन्यास 'बिलभ्ड' ले १९८८ मा 'पुलिट्जर' पुरस्कार पाएको थियो।
मोरिसन त्यस्तो लेखक हुन् जसका किताब खुबै मनपराइन्छन् र व्यवसायिक सफलता पाउँछन्। उनका उपन्यासहरू 'द न्यूयोर्क टाइम्स' अखबारको सबभन्दा धेरै बिक्ने सूचीमा धेरै पटक परेका छन्।
मोरिसनले लामो समय प्रिन्सटन विश्वविद्यालयमा प्राध्यापन गरेकी थिइन्। त्यस्तै र्यान्डम हाउस नामक प्रकाशक कम्पनीमा वरिष्ठ सम्पादकका रूपमा पनि काम गरिन्। उपन्यासकार, निबन्धकारका साथै उनी नाटककार र समीक्षक पनि हुन् ।
टोनी मोरिसनले सन् २००२ मा 'न्यासनल ह्युम्यानिटिज मेडल' र सन् २०१२ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको हातबाट 'प्रेजिडेन्टियल मेडल अफ फ्रिडम' पाएकी थिइन्।
ओइहोमा जन्मेकी मोरिसनको नाम पहिले क्लोइ आर्डेलिया वुफोर्ड थियो। उनको बिहे ह्यारोल्ड मोरिसनसँग भएको थियो। उनीहरूको बिहे पाँच-छ वर्षमात्र टिकेको बताइन्छ। मोरिसनका दुई छोराहरू फोर्ड र स्लेडमध्ये स्लेडको सन् २०१० मा क्यान्सरका कारण निधन भएको थियो। जेठा छोरा फोर्ड आर्किटेक्ट छन्।