सडक विस्तारको नाममा अतिक्रमण भएको जानकी मन्दिरको बगैँचाको फेरि नापी गरिएको छ।
सडक विस्तारको क्रममा जानकी मन्दिरको प्राङ्गढमै रहेको बगैँचाको जग्गा मिचेर सडक विस्तार गरिएपछि चौतर्फी रुपमा विवाद सिर्जना भएको थियो। स्थानीय युवाहरुले बगैँचाको जग्गा मिच्न नदिने दवाब दिएपछि नापी गरिएको हो।
जनकपुरधाम उपमहानगरपालिका तथा नापी विभागको संयुक्त टोलीले मिलेर मन्दिर प्राङ्गढमै रहेको बगैँचाको बुधबार नापी गरेको हो। नागरिक समाज, जनप्रतिनिधि तथा नागरिक समाजको रोहबरमा गरिएको नापीमा ऐतिहासिक जानकी मन्दिरको बगैँचा अतिक्रमण गरिएको पाइएको युवा अभियन्ता सुशिल कर्णले जानकारी दिएका छन्।
कुल ३ कठ्ठा १० धूर क्षेत्रफलमा रहेको सो बगैँचाको अतिक्रमण भएको पाइएको हो। नापीमा सहभागी भएका नागरिक समाजका मुरली मनोहर मिश्रका अनुसार बगैँचाको दक्षिण पूर्व कुनामा ११ फिट, बगैँचाको सडक तर्फको बीच भाग २.३ फिट र उत्तर पूर्वको कुनामा १० फिट जग्गा अतिक्रमण भएको हो।
नापी विभागको नक्सा अनुसार सिनं १३५५–८४ र कित्ता नम्बर ८मा रहेको सो बगैँचाको क्षेत्रफल ३ कठ्ठा १० धूर रहेको पाइएको छ। नापीमा बगैँचाको जग्गा अतिक्रमणको बिरुद्ध सामाजिक संजालमा बिरोध गर्दै आएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र साह र वडा नम्बर ४का अध्यक्ष सुदर्शन सिंहको समेत उपस्थिति थियो।
एसियाली विकास बैंकको सहयोगमा निर्माणाधीन सडकको निर्माण कार्यको क्रममा जानकी मन्दिरको बगैँचालाई अतिक्रमण गरी बाटोमा परेका घरहरुलाई जोगाएको भन्दै युवाहरुले निर्माण कार्यको विरोध गरेका थिए।
चौतर्फी रुपमा विरोध हुन थालेपछि आन्तरिक मामिला तथा कानून मन्त्रालयले गत कात्तिक २९ गते र नापी विभागले मंसिर ३ गते नापीका लागि पत्र पठाएको थियो। युवाहरुको विरोधका कारण अहिले पनि त्यहाँ सडक विस्तारको काम रोकिएको छ।
बगैँचाको जग्गालाई पूर्ववत् अवस्थामा नफर्काइएसम्म काम अगाडि बढ्न नदिने युवाहरुले चेतावनी दिँदै आएका छन्।