पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसमविद् समीर श्रेष्ठले बताए।
‘उक्त वायुको प्रभाव भोलिबाट विस्तारै कम हुँदै जाने छ’, उनले भने।
उपत्यकामा आज दिउँसो मौसम खुले पनि साँझपख वर्षा हुने बताइएको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पूर्वका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ।
भोलि देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
त्यस्तै, शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव सात र अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
फागुन १४ गते (बुधबार)
दिउँसो : देशको पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पूर्वी भू-भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू-भागका पहाडी भेगका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
राति : देशको मध्य भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी तराईका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
फागुन १५ गते (बिहिबार)
दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : देशको मध्य र पश्चिमी भेगमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
फागुन १६ गते (शुक्रबार)
दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : देशको पश्चिमी भू-भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहनेछ।