गोकर्णेश्वर नगरपालिका ६ बौद्धको नयाँ पाटीमा एक ट्रेकिङ गाइड मृत अवस्थामा फेला परेका छन्।
शनिबार मध्यराति खोटाङ घर भइ आरूबारी डेरा गरी बस्ने ४० वर्षीय पासाङ शेर्पा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक (डिएसपी) नविन कार्कीले जनकारी दिए।
गएराति एक महिलाले तामाङलाई ट्याक्सीमा हालेर अस्पताल लान खोजेकी थिइन्। त्यति नै बेला प्रहरी पुग्दा उनको मृत्यु भइसकेको डिएसपी कार्कीले बताए।
‘ट्याक्सीमा राखेर लग्न खोजिरहेको रहेछ, त्यहीबेला प्रहरी पुग्दा उनको मृत्यु भइसकेको थियो,’ डिएसपी कार्कीले भने, ‘अनि मुचुल्का उठाएको हो।’
उनका अनुसार ती महिलालाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ। उनको परिचय भने खुलाइसकेको छैन। ती महिलाले मृतक व्यक्ति राति अत्याधिक मादक पदार्थ सेवन गरी सुतेको बयान दिएको डिएसपी कार्कीले बताए।
उनले भने, ‘अब पोष्टमर्टम रिपोर्टमा के आउँछ त्यही अनुसार अनुसन्धान अघि बढ्छ। पोष्टमर्टमको लागि शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। मृतक शेर्पा र ती महिलाबीच केही समयदेखि सम्बन्ध रहेको प्रहरीले बताएको छ।