सोमबार मात्र सुर्खेतका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ५७७ जनाको पिसिआर परीक्षण गरिएकोमा कर्णालीका ४९ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ३९ जना सुर्खेतका रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका २२ जना, बराहताल गाउँपालिकाका एक जना, भेरीगंगा नगरपालिकाका ३ जना, चिङ्गाड गाउँपालिकाका एक जना, गुर्भाकोट नगरपालिकाका ३ जना, सिम्ता गाउँपालिकाका ८ जना छन्।
सोमबार कर्णालीमा थपिएकामध्ये जाजरकोटको २ जना, कालिकोटका १ जना, दैलेखका ७ जना छन्। जाजरकोटको नलगाड नगरपालिकाका दुई जना, कालिकोटका पलाँता गाउँपालिकाका एक जना, दैलेखको आठविस नगरपालिकाका ६ जना, नारायण नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
कर्णालीमा सोमबार थपिएका ४८ जना संक्रमितमध्ये ६ जना बालबालिका छन्। जसमा सुर्खेतको वीरेन्द्रनगरका १, २, ५, ६ वर्षीय बालक, भेरीगंगा नगरपालिकाका ४ वर्षीया बालिका, दैलखेको आठविस नगरपालिकाका ६ वर्षीय बालक छन्।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या हालसम्म २ हजार ८३५ पुगेको छ। यीमध्ये २ हजार ५३१ जना निको भएका छन्। अब २९८ जना सक्रिय संक्रमितहरू विभिन्न आस्पताल तथा आइसोलेसनहरूमा बसेको महाशाखाले जनाएको छ।