दाङ तुलसीपुरकी एक महिलाले जबरजस्ती बलात्कार गरेको भनेर किटानी जाहेरी दिएपछि सल्यानका एक युवक पक्राउ परेका छन्।
सल्यानको त्रिवेणी गाउँपालिका-६, लुहामका २६ वर्षीय प्रमोद श्रेष्ठ पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरको आग्रहका आधारमा इलाका प्रहरी कार्यालय लुहामले श्रेष्ठलाई पक्राउ गरी बुधबार आवश्यक कानुनी कारबाहीका लागि दाङको तुलसीपुर पठाएको छ।
इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले तुलसीपुरमा बस्दै आएकी एक १९ वर्षीया विवाहित महिलाले कात्तिक ७ गते इप्रका तुलसीपुरमा श्रेष्ठविरूद्ध किटानी जाहेरी दिएपछि श्रेष्ठलाई पक्राउ गरी दाङ पठाउन लुहाम प्रहरीको सहयोग लिनुपरेको बताए।
पीडित महिलाले जाहेरीमा असोज अन्तिममा आफूलाई श्रेष्ठले ललाइफकाइ तुलसीपुर १३ दमारगाउँस्थित जंगलमा लगेर जबरजस्ती बलात्कार गरेको आरोप लगाएकी छन्।
स्रोतका अनुसार श्रेष्ठलाई बलात्कार गरेको भनेर किटानी जाहेरी दिने ती महिलाको माइती घर पनि सल्यान नै हो। उनका श्रीमान रोजगारीका सिलसिलामा हाल विदेशमा छन्।
पक्राउ परेका श्रेष्ठका आफन्त भने उनलाई फसाइएको दाबी गर्छन्। उनीहरूबीच सम्बन्ध रहेको र दुवै केही समय सँगसँगै बसेको पनि आफन्त बताउँछन्।
प्रचलित कानुनअनुसार २० वर्ष उमेर नपुगी विवाह गर्न पाइँदैन। त्योभन्दा कम उमेरका युवतीसँग सल्लाहले सम्बन्ध राखे पनि बलात्कार गरेको ठहर भई स्वत: मुद्दा आकर्षित हुने गर्छ।