प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले मंगलबार पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ।
मंगलबार पनि नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनसहितका कानून व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।
विरोध प्रदर्शनका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिइकन कानमा तेल हालेर बस्दा न्याय सञ्चालन हुन नसकेको बताए।
उनले न्याय बेचबिखन गर्न र न्यायपालिकामा पुगेका आम मानिसलाई न्याय नदिने काममा प्रधानन्यायाधीश जबरा लागिरहेको आरोप समेत लगाए। अध्यक्ष श्रेष्ठले प्रधान्यायाधीश जबराको बहिर्गमन हुन अब धेरै समय नलाग्ने दाबी गरे।
‘न्यायपालिकाको गरिमालाई उच्च राख्न, न्यायपालिकामा व्याप्त रहेको विसंगति, विकृति, विचौलिया भ्रष्टाचार रोक्न, जो अभियान चलाउँदै आइरहेका छौँ। यो अभियानको बाधकको रूपमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामाको माग गर्दै हामीले कार्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा हामीले शान्तिपूर्ण धर्नाको कार्यक्रम जो गर्दै आइरहेका छौं’, उनले भने, ‘प्रधानन्यायाधीशले आफ्नो कानमा तेल हालेर राजीनामा नदिइकन जो बसिराख्नु भएको छ, त्यसले यो लम्बिँदै गइरहेको छ। यसमा हामीले सेवाग्राहीहरुलाई पनि ध्यान दिएर सेवाग्राहीलाई अन्याय पर्न नदिनको लागि, न्याय बेचबिखन हुन नदिनको लागि साँच्चिकै अन्यायमा परेकालाई न्याय दिनको लागि हामीले आन्दोलन गरिरहेका छौं।’
न्याय बेचबिखन नरोक्न लागि, न्याय नदिन, न्याय बेचबिखन गर्नको लागि उनले राजीनामा नदिएर बसिरहेको उनको राजीनामा मागिरहेका उनले बताए। ‘अब उहाँको बहिर्गमन अवश्यम्भावी छ । न्यायपालिकाको गरिमा राम्रो भएन र न्यायपालिका स्वच्छ भएन, स्वतन्त्र भएन भने राज्यका अरु अंग पनि निकम्बा हुन पुग्दछन्,’ उनले भने।
नेपाल बार एशोसिएशनसहित देशभरका कानून व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन्।