काठमाडौंको बालाजुमा बसको ठक्करबाट मृत्यु हुने दुबैको पहिचान खुलेको छ।
मृत्यु हुनेमा रसुवा घर भई तार्केश्वर नगरपालिका-१० मनमैजुका १८ वर्षीय विकास तामाङ र काठमाडौं-१६ का अन्दाजी ५० वर्षीया दुर्गा थापा मगर रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
बिहीबार बिहान करिब ६ बजे बालाजुको गंगा हलअगाडि मिनीबसले पैदल यात्रीलाई ठक्कर दिएको थियो।
एसपी मैनालीका अनुसार घाइते भएका उनीहरूलाई पहिले बालाजु जनमैत्री अस्पताल लगिएको थियो।
उनले थप उपचारको लागि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको बताए।
गंगा हल अगाडि बाटो काट्ने क्रममा उनीहरूलाई बसले ठक्कर दिएको थियो। प्रहरीले बसका चालकको खोजी गर्ने काम गरिरहेको परिसरले जनाएको छ।
‘बस ठक्कर दिएर फरार रहेको छ,’ उनले भने ‘दुई-तीन वटा शंकास्पद बसलाई नियन्त्रणमा लिएका छौं। भेरिफाइ गर्दैछौं। ’
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।