ललितपुरका मेयर चिरिबाबु महर्जनले गत भदौ ३ गते पाटनको पुल्चोकस्थित समय् फल्चा (पाटी) पुनर्निर्माण गर्ने 'भीष्मप्रतिज्ञा' गरेका थिए। त्यस दिन फल्चा शिलान्यासको पूर्वनिर्धारित कार्यक्रम भए पनि अघिल्लो साँझ जिल्ला अदालतबाट आएको 'स्टे अर्डर' ले काम रोकिएको थियो।
शिलान्यासका लागि भेला भएका सर्वसाधारणलाई सम्बोधन गर्दै उनले भनेका थिए, 'कसैले रोकेर फल्चा बनाउने काम रोकिन्न। आज नभए भोलि त बन्छ बन्छ। यो मेरो भीष्मप्रतिज्ञा हो।'
महर्जन आफ्नो प्रतिज्ञामा अडिग रहे। अदालतको चक्कर काटे, विरोधीका विरोधहरू सहे। अन्ततः फल्चा बनाएरै छाडे।
स्थानीय जनप्रतिनिधिले चाह्यो भने मासिएको सम्पदा पनि कसरी ब्युँतिन सक्छ भन्ने राम्रो उदाहरण बनेको पुल्चोकको समय् फल्चा शनिबार उद्घाटन भएको छ।
महानगरप्रमुख महर्जनले समय् फल्चा पुनर्निर्माण गर्दा महाभारत नै खेप्नुपरेको स्मरण गरे। उनले भने, ‘पाँच वर्षमा महानगरमा ७५ वटा पाटी बन्यो, ७४ वटा बनाउँदा सजिलै बन्यो, समय् फल्चा बनाउँदा महाभारत नै भयो। फल्चा बनाउन नदिन आधा दर्जनभन्दा बढी मुद्दा पर्यो।’
यो फल्चा बनाउँद दुःख भए पनि अन्तत सम्पदाप्रेमीको जित भएको उनको प्रतिक्रिया थियो। फल्चा उद्घाटनको दिनको व्यग्र प्रतिक्षामा सम्पदाप्रेमीहरु रहेको बताउँदै उनले भने, ‘समय् फल्चा बन्न समय नै आउनु पर्नेरहेछ, आज म पनि सबै सम्पदाप्रेमी सरह खुशी छु।’ फल्चा पुनः निर्माण हुन नदिन लालीगुराँस सहकारीले मुद्दा हालेको थियो। मुलुकमा न्याय मरेको छैन भन्ने कुराको यो महत्वपूर्ण उदाहरण भएका महानगर प्रमुख महर्जनको भनाइ थियो।
‘हामीले २०५७ सालमा समय् फल्चा पुनःनिर्माण समिति गठन गरी यसलाई अघि बढाउन लाग्दा विभिन्न अवरोध एवं आरोह खेप्नुपर्यो। २०६५ सालमा यो फल्चा महत्वपूर्ण छ भनेर सर्वोच्च अदालतले निर्णय गरिदिएपछि निर्माण प्रारम्भ गर्न खोज्दा अर्का सातवटा मुद्दा खेप्नुपर्यो,’ उनले भने।
उक्त पार्टी पुनःनिर्माण थाल्दा पुल्चोकको मूल सडक नै अतिक्रमण हुन्छ भन्ने आरोप सहनु परेको बताउँदै प्रमुख महर्जन आफूले फल्चा नजिकैको पेटीसमेत नछोएको दाबी गरे।
महानगरपालिका वडा नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले सो पाटी निर्माण सम्पन्न गर्न सक्नु आफूहरुका लागि एक युद्व जिते सरहको आभास भइरहेको जिकिर गरे। उनले यो युद्धको कमाण्डर महानगर प्रमुख चिरीबाबु महर्जन भएको बताए। उनले भने, ‘हामी नेवार सोझा भएर २०३८ सालमै दर्ता गर्नुपर्ने फल्चाको काम अघि बढाएनौं। पछि विभिन्न अवरोध खेप्नुपर्यो तर पनि अहिले सत्यकै जीत भयो।’
समितिका अध्यक्ष सुरेन्द्रकुमार शाक्यले सम्पदाप्रेमीका सहयोग र संरक्षणमा सो फल्चा पुनःनिर्माण सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गरे। फल्चा पुनःनिर्माण उपभोक्ता समितिका संयोजक रवीन महर्जनले प्राचीनकालदेखि रहेको सो फल्चा पहिलोपटक २०२९ सालमा भत्केको जानकारी गराए।
सो फल्चा एक आनाभन्दा बढी जग्गामा महानगरपालिकाले दिएको २९ लाख रुपैयाँमा केही थप गरी निर्माण सम्पन्न गरिएको हो।
महानगरपालिका–३ निवासी चिरीमाया महर्जनले उक्त पार्टीमा बसेर नेवार समुदायका मानिसले समय्बजी खाने भएकाले यसलाईसमय् फल्चा वा समय दिने पाटी भनिएको जानकारी दिइन्।
पाँच दशकअघि मासिएको, रातो मच्छिन्द्रनाथको जात्रासँग जोडिएको फल्चा फेरि बनेपछि स्थानीयवासी खुसी भएका छन् ।
यो खुसी साट्दै मेयर महर्जनले सेतोपाटीसँग भने, 'लामो संघर्षपछि हामीले समय् फल्चा बनाएरै छाड्यौं। अब यो फल्चासँग जोडिएका गतिविधि स्थानीयले फेरि सुरू गर्न पाउँछन्। एकदमै खुसी लागेको छ।'
समय् फल्चा पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाअगाडि छ। साढे आठ आना क्षेत्रफल जग्गामा रहेको उक्त सहकारीले फल्चाको जग्गा मिचेको थियो। उसले दक्षिण मोहडाको भवन बनाउने गरी नक्सा पास गरे पनि पूर्व फर्काएर बनाएको थियो। यसले सहकारी संस्था छिर्ने मुख्य प्रवेशद्वार फल्चाको जग्गातिर फर्किएको थियो।
सहकारीले सार्वजनिक जग्गा मिचेर गैरकानुनी ढंगले भवन बनाएको भन्दै ललितपुर महानगरले फल्चा ब्युँताउन पहल गर्यो।
त्यस क्रममा महानगरले फल्चा शिलान्यास गर्दा र पछि निर्माण गर्दा सहकारी संस्था र उक्त भवनमा भाडामा बसेका पसलहरूले अदालतमा मुद्दा हालेर काम रोक्न खोजेका थिए। यसले पुनर्निर्माणलाई असर पुर्याए पनि मेयर महर्जन फल्चा ब्युँताउन निरन्तर लडिरहे।
विभिन्न समयमा हालिएका मुद्दामा सर्वोच्च अदालतले दुईचोटि र उच्च अदालतले एकचोटि फल्चा निर्माण गर्न बाटो खोलिदिएका थिए। अन्ततः सबै मुद्दा महानगरपालिकाले जितेकाले यहाँ फल्चा बनेको हो।
महानगरले अहिले फल्चा बनाउँदा सडकको पेटीतर्फ फर्किएको सहकारी प्रवेश गर्ने बाटो बन्द भएको छ। तिनले अहिले दक्षिणतर्फ सानो बाटो खोलेका छन्।
पुल्चोकको अशोक स्तुपभन्दा दक्षिणतर्फ समय् फल्चा थियो भन्ने २०२३ सालमा खिचिएको तस्बिरबाट प्रस्ट हुन्छ। स्थानीयसँग पनि फल्चा देखेको स्मरण थियो।
समयक्रममा उक्त फल्चा मर्मतसम्भार अभावले जीर्ण हुँदै गयो तर जिर्णोद्धार गर्न कसैले वास्ता गरेनन्। उल्टो २०२९ सालतिर विदेशी पाहुनालाई वृक्षारोपण निम्ति पुल्चोक हुँदै गोदावरी लैजान खोज्दा बाटोछेउको जीर्ण फल्चा दरबारलाई शोभनीय लागेन। त्यसैले दरबारकै निर्देशनमा उक्त फल्चा भत्काइयो।
फल्चामा भएको टुँडाल, मूर्ति र शिलालेख भने नजिकै प्रहरी चौकीमा सुरक्षित राखिएको थियो। यी पुराना सामग्री पुनः फल्चामा राखिएको मेयर महर्जनले बताए।
यहाँ भेटिएको शिलालेखअनुसार यो फल्चा २ सय ६ वर्ष पुरानो हो। रातो मच्छिन्द्रनाथ जात्रा बेला यहाँ समय् बजी खुवाइने भएकाले यसको नामै समय् फल्चा रहन गएको हो।
जहिलेदेखि फल्चा मासियो, त्यसयता समय् बजी खुवाउने कार्यक्रम अलपत्र थियो। कहिले लामोपाटी, कहिले पुल्चोककै सोह्रखुट्टे पाटी त कहिले सडक किनारमै पाल टाँगेर समय् बजी खानुपरेको स्थानीय बताउँछन्।
अब फेरि फल्चा ब्युँतिएकाले ती गतिविधि फेरि सुरू हुने मेयर महर्जन बताउँछन्।
'शनिबार उद्घाटन क्रममा हामी फल्चामा १०–१२ पाथी चिउरा, विभिन्न गेडागुडी, माछा–मासु लगायतले सजाएर ठूलो समय् बजी प्रदर्शनका लागि राख्नेछौं। त्यसलाई पछि कार्यक्रममा उपस्थित हुने मान्छेबीच बाँड्नेछौं। यसले समय् फल्चाको महत्व के हो भन्ने बुझाउँछ,' उनले भने, 'रातो मच्छिन्द्रनाथ जात्रा बेला पहिलेजसरी समय् बजी खुवाउने कामले पनि निरन्तरता पाउनेछ।'
एक आना एक दाम क्षेत्रफलको यो फल्चा पुनर्निर्माणका लागि महानगरले करिब तीस लाख रूपैयाँ बजेट छुट्याएको थियो। निर्माण क्रममा यसको लागत करिब ३५ लाख पुगेको मेयर महर्जनले जानकारी दिए।
'हामीले यो फल्चा मौलिक स्वरूपमा बनाएका छौं। यसमा प्रयोग भएका काठ, इँटा लगायत सामग्री र काममा हामीले कुनै कञ्जुस्याइँ र सम्झौता गरेनौं। त्यही भएर लागत अलिकति बढेको हो,' उनले भने, 'बजेटभन्दा बढी भएको पैसा हामीले स्थानीयसँग चन्दा उठाउने सोचेका छौं।'