मेलम्ची नदीको पानी पुन: सुरूङमा पठाइएको छ। मंगलबार अम्बाथानस्थित १ नम्बर डाइभर्सन गेटबाट सुरूङमा पानी पठाइएको हो।
खानेपानी मन्त्री उमाकान्त चौधरीले १ नम्बर गेटबाट पानी पठाएर ३८ नम्बर गेट खोली मेलम्ची खानेपानी आयोजनाको दोस्रोपटक उद्घाटन गरेका हुन्।
सुरूङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए।
सुरूङबाट पठाइएको पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आउने छ। त्यहाँबाट केही दिनमै काठमाडौंका धाराहरूमा पानी आइपुग्ने बताइएको छ।
सरकारले चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंमा झार्ने घोषणा गरेको थियो। त्यसका लागि मेलम्ची आयोजना क्षेत्रमा अस्थायी संरचनाहरू निर्माण गरिएको छ।
गत वर्ष चैत १७ गतेदेखि मेलम्चीको पानी काठमाडौंमा ल्याइएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिए पनि असार १ गते मेलम्ची नदीमा बाढी आएपछि आयोजनामा क्षति पुगेको थियो।
असार १ गते परीक्षणका लागि सुरूङ बन्द गरेको थियो। त्यही दिन मेलम्चीमा बाढी आएर आयोजनामा क्षति पुगेको थियो। सुरूङ बन्द नभएको भए मेलम्चीमा ठूलो क्षति हुने थियो।