विश्व स्वास्थ्थ संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।
भारत हुँदै नेपाल आएका उनलाई परराष्ट्रका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार डब्लुएचओका महानिर्देशक गेब्रेयससको नेपाल भ्रमण टोलीमा डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा पूनम क्षेत्रपाल सिंह र डब्लुएचओका अन्य पदाधिकारीहरु छन्।
नेपाल भ्रमणमा रहँदा महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
उनले परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग पनि भेट गर्नेछन् ।