बालबालिकालाई बेला बेलामा खोकी लागिरहने, स्याँ-स्याँ भइराख्ने, घ्यार घ्यार भइराख्ने, हिँड्दा श्वास फुलेजस्तो भइरहनाले ‘दम’ आम समस्या हो।
यी समस्या चाडै निको हुने र बल्झिने भइरहन्छ। कुनै बच्चालाई एक महिनामा बल्झिने हुन्छ भने केहीलाई दुई महिनामा बल्झिन्छ। कोही बच्चालाई रूघा लागेको बेलामा श्वास फुलेजस्तो हुनुलाई पनि दम भनेर बुझिन्छ।
साधाराणतया बच्चाको उमेर अनुसार लक्षण देखिन्छ।
बालबालिकालाई दम भएको थाहा पाउन चिकित्सकले स्वास्थ्य परीक्षण गर्छन्। दम भएका बच्चाको छातिमा केही संकेत देखिन्छ। त्यसपछि केही परिक्षण गरिन्छ।
साना बच्चामा फिनो परीक्षण गरेर थाहा पाउन सकिन्छ। बच्चाको उमेर अनुसार विभिन्न खालका परीक्षण गर्नुपर्ने हुन्छ। यसका लागि छातिको एक्सरेदेखि रगतको परीक्षणसम्म गर्नुपर्ने हुन्छ।
यसमा बच्चाको दमको उपचार दुई कुरामा भरपर्छ। घरीघरी बिरामी या कडा रूपले बिरामी कस्तो छ सोही अनुसार उपचार गर्नुपर्ने हुन्छ।
सामान्यतया दुई किसिमका औषधि गरिन्छ। एकथरी लामो समयसम्म श्वास प्रश्वासका नलीमा भएको शुन्नीने कम गर्ने औषधी र अर्को एकदम गाह्रो भएको बेलामा तुरून्तै आराम दिने औषधि हुन्छ। दुईथरी पम्पको प्रयोग हुन्छ।
दम भयो भन्नासाथ बुवा आमाहरू आत्तिनुहुन्छ। त्यसरी आत्तिनु भन्दा उपचारको बाटो रोज्नुपर्छ। धेरैजसो बच्चालाई ६ हप्तादेखि तीन महिनासम्म श्वासप्रश्वासबाट दिने औषधि दिदा धेरै वर्षसम्म दम नियन्त्रण हुन्छ।
५ वर्षभन्दा सानो उमेरमा देखिएको दम ५ वर्षपछि कम हुन्छ। तीन महिना राम्रोसँग औषधिले नियन्त्रण गरेमा धेरै राम्रो हुन्छ।
दम हुनुको विभिन्न कारण छन्। वंशाणुगत, वातावरणीय लगायतका धेरै कारणले दम हुन्छन्। दम हुनै नदिने कठिन छ। धुलोले असर गर्छ भने धुलोमा नजाने, कुनै खानाले असर गर्छ भने त्यसलाई नदिने हो। त्यसैले दम पत्ता लगाएपछि उपचारमा जानुपर्छ।
दमलाई लापरबाही गरेमा बेलामौकामा गाह्रो हुनसक्छ। बच्चालाई आइसियुमै भर्ना गराउनपर्ने हुनसक्छ। त्यसैले लापरबाही भन्दा पनि उपचारमा जानुपर्छ।
कतिपयले दम र निमोनियालाई उस्तै ठानेका हुन्छन्। दम र निमोनियाको उपचारको पद्धतिनै फरक हुन्छ। त्यसैले यी दुई फरक हुन् भनेर बुझ्न जरूरी छ।
दम रोग लाग्नसक्ने कारण र यसको उपचार लगायतका विषयमा केन्द्रीत रहेर हामीले कान्ति बाल अस्पताल र अल्का अस्पतालमा कार्यरत बाल छाति रोग विशेषज्ञ डाक्टर जगत जीवन घिमिरेसँग सेतोपाटीका लागि सन्जिब बगालेले गरेको भिडिओ कुराकानी हेर्नुहोस्।